हावाहुरीको कारण २ जनाको मृत्यु, १०३ जना घाइते
प्रकाशित मिति
२०७६ जेष्ठ २५ गते, शनिबार १०:१३
काठमाडौं,
गए राति कैलाली, कञ्चनपुर र वर्दियामा आएको हावाहुरीको कारण २ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् । घाइतेमध्ये ८३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
हावाहुरीको कारण मृत्यु हुनेमा कैलाली टिकापुर नगरपालिका-२ राजिपुर बस्ने ४७ वर्षीय लाहानु दबैरा र कैलाली गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षीय बीर बहादुर चौधरी रहेका छन् । हावाहुरीले पोल्ट्री फर्मको पर्खाल भत्किदाँ बेहोश भएका लाहानु दबैरालाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने चौधरी सवार से.१ प ५८२१ नम्बरको मोटरसाइकल हुरीले अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिपरमा ठोक्किदा उनको मृत्यु भएको हो .

हावाहुरीमा परी कैलालीमा घाइते भएका ७८ जनामध्ये ६ जनाको अञ्चल अस्पताल कैलालीमा तथा २ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र २ जनालाई थप उपचारको लागि भारततर्फ लगिएको छ भने ६८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

साथै हावाहुरीमा परी कञ्चनपुरमा घाइते भएका २३ जनालाई उपचारको लागि अञ्चल अस्पताल महाकाली पठाइएकोमा १५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने ८ जनालाई थप उपचारको लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ ।
यसैगरी हावाहुरीमा परी वर्दिया बाँसगढी नगरपालिका-४ मदाह बस्ने २७ वर्षीया सुमित्रा बिक र उनका ५ वर्षीय छोरा नारायण बिक घाइते भएका छन् । कच्ची घर भत्किदा घाइते भएका उनीहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लगिएको छ ।
सबै स्थानमा प्रहरी टोली खटि गई स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।




प्रतिकृया