सोनी ले केही देशमा मोबाइल व्यापार बन्द गर्दै
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १२:०८
जेठ,काठमाडौं । सोनीले विभिन्न मुलुकमा मोबाइल व्यवसाय बन्द गर्ने भएको छ। कम्पनीले आफ्नो रणनीतिलाई परिवर्तन गर्दै मोबाइल बिजनेसलाई सीमित देशमा मात्र ध्यान केन्द्रित गर्ने गरी अन्य बजारमा व्यापार बन्द गर्ने भएको छ। बन्द हुने देशको सूचीमा भने नेपाल परेको छैन। यसको अर्थ नेपालमा सोनीको उत्पादन यथावत् रहने छ।

कम्पनीले आफ्नो मोबाइल बिजनेसको लागतलाई ५० प्रतिशतले कम गर्ने उद्देश्यका साथ भारत, अष्ट्रेलिया, क्यानडा, उत्तर अमेरिका, मेक्सिको, अफ्रिका र मिडिल इस्टका देशबाट कारोबार बन्द गर्ने भएको छ।

जापानी टेक कम्पनी सोनी कर्पोरेसनले केही समयअघि मात्र आफ्नो एक्सपेरिया मोबाइल डिभिजनलाई अन्य इलेक्ट्रोनिक्स डिभिजनमा गाभेको थियो। कम्पनीले मोबाइल बिजनेसमा घाटा लागेको भन्दै एक्सपेरिया मोबाइल डिभिजनलाई इलेक्ट्रोनिक्स प्रडक्ट्स एन्ड सोलुसन्स डिभिजनमा गाभेको थियो। जसमार्फत कम्पनीले टिभी, अडियो र क्यामेरा उत्पादन गर्ने गर्दछ।
कुनैबेला सफल मोबाइल बिजनेस गरेको सोनीले अहिले भने केही बजारबाट आफ्नो हात झिकेको छ। कम्पनीले हाई एन्ड बजारमा सामसङ र एप्पलसँग प्रतिस्पर्धा गर्नु परेको र मिड रेन्ज बजारमा नयाँ आविष्कारमा उत्पादन नआउनु, उद्योगको प्रवृत्तिलाई स्वीकार गर्न नसक्नुजस्ता कारणले बजार गुमाइरहेको बेला सीमित बजारमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।




प्रतिकृया