बाँकेमा थपिए ४४ जना कोरोना संक्रमित
प्रकाशित मिति
२०७७ चैत्र ३० गते, सोमबार ०५:५०
नेपालगञ्ज: बाँकेमा सोमबार ४४ जनामा कोरोना पुष्टि भएको छ। भारतबाट आएका तीन जना र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४१ जना गरी ४४ जनालाई कोरोना पुष्टि भएको हो।
भेरी अस्पतालमा ७८ जनाको जाँच गरिएकोमा ४१ जनालाई कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ। यस्तै भारतको महाराष्ट्रबाट आएका बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३५ वर्षीय व्यक्ति र उनका १२ वर्षका छोरालाई कोरोना पुष्टि भएको छ। भारतबाट आएका सुर्खेत सिम्ताका १९ वर्षका किशोरलाई पनि कोरोना देखिएको छ।

बाँकेमा कोरोनाका संक्रमित बढिरहेका छन्। भेरी अस्पताल नेपालगञ्जमा संक्रमितलाई राख्ने ठाउँको अभाव हुँदै गएको छ। केही बेड गम्भीर विरामीका लागि छुट्याइएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भेरी अस्पताल भरिँदै गएकाले अबका विरामीलाई कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताए।

सरकारले आइसोलेसन तयारी अवस्थामा राख्नका लागि पालिकाहरुलाई दश लाख रुपैयाँ दिएको भए पनि त्यसको सदुपयोग नभएको फोकलपर्सन वलीको भनाइ छ।




प्रतिकृया