• ४ साउन २०८३, सोमबार
  • २:४७ बिहान

नेपालमा यौन शिक्षालाई वेवास्ता, बालबालिका मा कैयौं यौन जिज्ञासा

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १२:१९

काठमाडौं ।
स्वाभाविक यौन जिज्ञासा र मनोविज्ञानलाई अभिभावक, शिक्षक, समाज र नीतिगत संरचनाले सम्बोधन नगर्दा बालबालिकाहरू मानसिक प्रताडना र कानूनी सजायको शिकार भइरहेका छन् ।

तीन वर्षअघिको एक साँझ काठमाडौंको सडकमा हिंडिरहेका बेला छाया चौधरी (२०) का आँखा बुवासँग ठोक्किए । उनले बुवाको अनुहार हेरिरहन सकिनन् । कारण, उनी केटा साथीसँग हात समातेर हिंडिरहेकी थिइन् । बाबु–छोरी आ–आफ्नो बाटो लागे । घर पुगेपछि पनि संवाद हुन सकेन ।

Kamana Sewa

त्यसको केही महीनापछि ‘भ्यालेन्टाइन्स डे’ मा छायालाई बुवाले एउटा चिठी लेखे । जसमा प्रेम, आकर्षण जस्ता कुरा प्राकृतिक भएको तर यतिबेला पढाइ र करिअरमा ध्यान दिनुपर्ने सुझाव थियो । चिठी पढेर भावविह्वल भएकी छायाले त्यसपछिका दिनमा प्रेम सम्बन्धका हरेक कुरा बुवालाई इमेल मार्फत भन्न थालिन् ।

Classic Tech Desktop

कतिसम्म भने, ब्रेकअप भएको कुरा पनि उनले सबभन्दा पहिले बुवालाई नै सुनाइन् । तर, सबै किशोरकिशोरीका अभिभावकले छायाका बुवाले जस्तो समझदारी अपनाउँदैनन् ।

हुर्कंदो उमेरसँगै देखिने यौन मनोविज्ञान बुझेर मार्गदर्शन गर्न असमर्थ अभिभावक, शिक्षक र समाजका कारण उर्वर समय निराशा र कुण्ठामा बिताउने धेरै बालबालिका र किशोरकिशोरी अन्योलग्रस्त अवस्थामा हुर्किरहेका छन् । झपाकी सिमोन सिटौला (२२) तिनैमध्ये पर्छिन् ।

मामाघरमा बसेर सात कक्षा पढ्दै गर्दा उनी पहिलो पटक केटा साथीप्रति आकर्षित भएकी थिइन् । त्यसबारे थाहा पाउनेबित्तिकै अभिभावकले १३ वर्षकी उनलाई ल्याएर आफैंसँग राखे । यौवनावस्थामा प्रवेशसँगै देखिएको स्वाभाविक परिवर्तन नबुझेका आमाबाबुबाट त्यसपछिका हरेक दिनजसो उनले गाली र धम्की मात्र पाइन् । फलस्वरूप आत्मबल कमजोर हुँदै गयो । “जुनसुकै बेला बुवा–आमाले कडा निगरानी गर्न थालेपछि आफ्नै घर जेलजस्तो लाग्थ्यो”, उनी सम्झिन्छन् ।

पढाइमा विचलन आउँदा एकैपटक सात विषयमा फेल भएकी उनले विस्तारै आफूलाई बाबुआमाको इच्छा अनुसार ढाल्दै लगिन् । हाल काठमाडौंको एक क्याम्पसमा स्नातकोत्तर पढिरहेकी सिमोनलाई आफ्नो विगत निसासिंदो लाग्छ ।

तर, बाबुआमा गर्वसाथ भन्ने गर्छन्, “हामीले त्यतिखेर लगाम नलगाएको भए तँ बिग्रिसकेकी हुन्थिस् !” यौनप्रतिको नकारात्मक मनोविज्ञानका कारण उनलाई अहिले पारिवारिक जीवनप्रति नै वैराग्य छ । हाल मनोविद्सँग परामर्श लिइरहेकी सिमोन भन्छिन्, “त्यतिखेर बुवाआमाले साथीको भूमिका खेलेर राम्ररी बुझाएको भए शायद मैले यौनलाई यति डरलाग्दो रूपमा बुझ्ने थिइनँ ।”

काठमाडौं टोखाकी शर्मिला थापा (२५) को अनुभव पनि उस्तै तीतो छ । १३ वर्षको उमेरमा शारीरिक विकासका क्रममा छाती पुष्ट हुँदै गएपछि आमाले उनलाई कराइरहन्थिन्, ‘छाती ढाकेर हिंड् ।’ आज्ञाकारी छोरी बन्ने प्रयासमा छाती लुकाउन निहुरिएर हिंड्न थालेकी शर्मिलाको शरीर किशोरावस्थामै कुप्रो हुन पुग्यो । शरीरको प्राकृतिक विकासलाई डरलाग्दो नजरले हेर्न सिकाएकी आमासँग अहिले उनलाई ठूलो गुनासो छ ।

तीन वर्षअघि काठमाडौंको एक विद्यालयले विद्यालय हाताभित्र चुम्बन गरेको आरोपमा दश कक्षाका एक छात्र र एक छात्रालाई निष्काशन र्गयो । अरू विद्यार्थी पनि त्यस्तै गतिविधितर्फ अग्रसर होलान् भनेर उनीहरूलाई निकालिएको विद्यालय प्रशासनको भनाइ थियो ।

यौन शिक्षा दिएर उचित बाटो देखाउनुको साटो विद्यार्थीको प्राकृतिक जिज्ञासा र गतिविधिलाई अंकुश लगाउनु गलत भएको मनोविद्हरूको भनाइ छ ।

किशोरावस्थातर्फ प्रवेश गर्ने क्रममा बालबालिकामा देखिने शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनलाई अस्वीकार गर्न सिकाउने बाबुआमाले बालबालिकामा यौन कुण्ठाको बीउ रोपिरहेको मनोविद् गंगा पाठक बताउँछिन् । “यौवनावस्थामा प्रवेश गर्ने क्रममा देखिने स्वाभाविक जिज्ञासालाई दण्डसजायबाट दबाउने अभिभावक र विद्यालय प्रशासनको प्रयास अप्राकृतिक छ, जसले बालबालिकामा यौनप्रतिको बुझाइ नकारात्मक बनाउँदैछ”, उनी भन्छिन् ।

जिज्ञासु उमेरको कानूनी मूल्य
गएको डेढ दशकयता विभिन्न अदालतमा बाल बिजाइँ सम्बन्धी परेका मुद्दाका फैसला नियाल्दा बालसुलभ यौन जिज्ञासा मेट्ने क्रममा भएका घटनाबाट थुप्रै बालबालिकाले कानूनी सजायको भागी हुनुपरेको देखिन्छ ।

नौ वर्षअघि कपिलवस्तुको कोपवामा गोठालो जाँदा गाईबस्तु एकअर्कामाथि उक्लेको देख्दा तीन बालक र एक बालिकालाई अनौठो लाग्यो । त्यसको देखासिकी गर्दै उनीहरूले एकअर्कामाथि चढ्ने खेल खेले । तर, ‘खेल’ का क्रममा बालिकाले यौनाङ्गमा दुःखेको महसूस गरिन् र बेलुका आमालाई घटनाबारे बताइन् । आमाले उजुरी गरेपछि तीन बालक पक्राउ परे । अन्ततः कपिलवस्तु जिल्ला अदालतको फौजदारी इजलासले बालिकामाथि बलात्कार भएको ठर्हयाउँदै बालकहरूलाई तीनरतीन महीना बाल सुधारगृहमा राख्ने फैसला सुनायो ।

१४ वर्षअघि चितवनको रत्ननगरमा १५ वर्षे एक किशोरलाई घरमै अङ्ग्रेजी फिल्म हेर्दा शारीरिक सम्पर्कको दृश्यले खुल्दुली लाग्यो । उनले घरअगाडि बाटोमा हिंडिरहेकी ९ वर्षकी छिमेकी बालिकालाई बोलाएर फिल्ममा देखिएको दृश्य दोर्होयाए ।

बालिकाका अभिभावकले थाहा पाएपछि चितवन जिल्ला अदालत पुगेको जबर्जस्ती करणीको मुद्दामा ती किशोरलाई तीन वर्ष ६ महीना बाल सुधारगृहमा राख्ने र पीडित बालिकालाई क्षतिपूर्तिबापत आधा अंश दिलाउने फैसला सुनाइयो ।

नौ वर्षअघि पाल्पाको एक विद्यालयमा भएको घटना पनि यस्तै प्रकृतिको छ । १४ वर्षीय बालकले विद्यालयमा खाजा खाने छुट्टीको समयमा सात वर्षीया बालिकालाई पाँच रुपैयाँ दिन्छु भनी फकाएर नजिकैको खोल्सामा लगी करणी गरे । फिल्ममा हिरो–हिरोइनबीचको दृश्य नक्कल गर्दा कस्तो हुँदोरहेछ भनेर त्यसो गरेको बताएका ती बालकले सोही कारण तीन वर्ष ६ महीना बाल सुधारगृहमा बस्नुर्पयो ।

अधिकांश बाबुआमा आफ्ना छोराछोरीले हस्तमैथुन गर्छन् भन्ने कुरा पत्याउनै मान्दैनन्, जबकि यौवनावस्थामा त्यो स्वाभाविक हो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ बमोजिम करणी लगायत अन्य आपराधिक क्रियाकलापमा संलग्न भएमा १० वर्षमुनिका बालबालिकालाई सजाय नहुने, १० देखि १४ वर्षसम्मका बालबालिकालाई ६ महीनासम्म कैद (बाल सुधारगृह) हुने, १४ देखि १६ वर्ष मुनिकालाई उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा र १६ देखि १८ वर्षसम्मका लाई दुईतिहाइ सजाय हुने व्यवस्था छ ।

मनोविद् करुणा कुँवर सुधारगृहमा बालबालिकाको बसाइ र छुटेपछि समाजमा पुनस्र्थापनाबारे अध्ययन गरिनु आवश्यक रहेको बताउँछिन् । सुधारगृहमा विभिन्न कसुर गरेका बालबालिकालाई सँगै राखिनु अवैज्ञानिक भएको उनको बुझाइ छ । उनी भन्छिन्, “यसले बालबालिकालाई थप आपराधिक गतिविधिमा संलग्न गराउने जोखिम हुन्छ ।” उनी १० वर्षमुनिका बालबालिकालाई विशेष यौन परामर्श दिनुपर्ने दायित्वलाई कानूनले सम्बोधन नगरी राज्य पन्छिन नमिल्ने बताउँछिन् ।

१४ देखि १६ र १६ देखि १८ वर्षसम्मका बालबालिकालाई कानून बमोजिम उमेर पुगेकालाई हुने सजायको क्रमशः आधा र दुईतिहाइ सजायको व्यवस्था निकै कठोर भएको अधिवक्ता कोशराज काफ्ले बताउँछन् । मुलुकी अपराध (संहिता) ऐनमा करणी सम्बन्धी कसुरको व्यवस्था अन्तर्गत वयस्कलाई ७ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको आधारमा १४ देखि १६ वर्षका बालबालिकाले साढे ३ वर्षदेखि १० वर्षसम्म बाल सुधारगृहमा बस्नुपर्छ ।

त्यसो त बालबालिका सम्बन्धी हुने सम्पूर्ण मुद्दाको निरुपण व्यवस्था बालअधिकार सम्बन्धी महासन्धि १९८९ अनुसार नै छन् । बाल बिजाइँका मुद्दा हेर्न बालमैत्री न्यायिक संरचना बनाउनुपर्ने कानूनी व्यवस्थालाई सम्बोधन गर्दै हालसम्म ५६ जिल्लामा बाल इजलास गठन भएका छन्, जहाँ न्यायाधीशका साथै बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिक र समाजसेवी हुनुपर्ने व्यवस्था छ ।

तर, बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालका कार्यक्रम व्यवस्थापक भरत अधिकारी अदालतमा मात्र बालमैत्री व्यवहार गरेर नहुने बताउँछन् । “कुनै पनि अपराधमा संलग्न बालबालिकालाई थुनामा राख्न नमिल्ने भएकोले सुधारगृहमा राख्नुपर्ने हुन्छ । तर, अहिले देशभरमा आठ वटा मात्रै सुधारगृह छन् ।”

बाल न्याय समन्वय समिति सचिवालयको ‘नेपालमा बाल न्यायको स्थिति प्रतिवेदन—२०७१’ अनुसार, आर्थिक वर्ष २०६२र६३ देखि २०७०र७१ सम्म दर्ता भएका बाल बिजाइँका ६१५ वटा मुद्दामध्ये २३६ वटा जबर्जस्ती करणीका छन् भने अप्राकृतिक मैथुनका १२ वटा छन् ।

‘जिम्मेवार अभिभावकत्व जरूरी’

बालबालिका तथा किशोरकिशोरीको जिज्ञासा, विपरीत लिंगीप्रतिको आकर्षण र व्यवहारलाई सही ढंगले सम्बोधन गरिनुपर्ने विज्ञहरूको भनाइ छ । किशोरावस्थातर्फ उन्मुख बालबालिकामा कौतुहल बलियो र निर्णय क्षमता कमजोर हुने भएकोले अभिभावकहरूको भूमिका जिम्मेवारीपूर्ण हुनुपर्ने मनोविद् गंगा पाठकको सुझाव छ ।
मनोविद् करुणा कुँवर किशोरवयमा एक–अर्काप्रति आकर्षण हुनु सामान्य र जैविक प्रक्रिया हो भन्ने कुरा बाबुआमा र शिक्षक दुवैले बुझ्नुपर्ने बताउँछिन् । “बालबालिकाको यौन जिज्ञासा र गतिविधिलाई भयंकर विषय बनाउनु गलत हो” उनी भन्छिन्, “अनावश्यक अनुशासनको अंकुश लगाउन खोज्दा गलत संगतमा लाग्ने र कुलतमा फस्ने जोखिम बढ्छ।”

यौन शिक्षाबाट बालबालिकालाई आफ्नो शरीरका अंगको काम र संवेदनशीलता, राम्रो र नराम्रो छुवाइ आदि बारे ज्ञान दिएमा दुरुपयोग र शोषणबाट बच्न सघाउने उनको भनाइ छ।

रत्न राज्यलक्ष्मी क्याम्पसको मनोविज्ञान संकायकी सहप्राध्यापक सिर्जना श्रेष्ठ १० वर्षको उमेरदेखि नै केटीको शरीरमा एस्ट्रोजिन र केटाको शरीरमा टेस्टोस्टेरोन हर्मोनको प्रभाव देखिने भएकोले उनीहरूको बदलिंदो मनोविज्ञानलाई स्वाभाविक मान्दै मार्गदर्शन गराउनुपर्ने बताउँछिन् । “अधिकांश बाबुआमा आफ्ना छोराछोरीले हस्तमैथुन गर्छन् भन्ने कुरा पत्याउनै मान्दैनन्, जबकि यौवनावस्थामा त्यो स्वाभाविक हो”, श्रेष्ठ भन्छिन् ।

छोराछोरीलाई किशोरवयमा अन्योलग्रस्त हुन नदिन अभिभावकहरूले पर्याप्त समय र साथ दिनुपर्ने डा. अरुणा उप्रेतीको भनाइ छ । उनका अनुसार, पछिल्लो समय बाबुआमाको बढ्दो व्यस्तता र सूचना–प्रविधिका साधनमा बालबालिकाको सहज पहुँचका कारण उनीहरू अस्वस्थ यौन क्रियाकलापतर्फ लाग्ने गरेका छन् । “शारीरिक विकासमा परिवर्तन आउनुअघि नै उनीहरूलाई शरीरका अंगका साथै यौन सम्बन्धी जैविक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पाटोबारे जानकारी दिनुपर्छ”, उनी भन्छिन् ।

शिक्षाविद् केदारभक्त माथेमा अक्सर अभिभावककै अंकुशका कारण बालबालिका यौनका मामिलामा कुण्ठित र अन्योलग्रस्त बनेको देख्छन् । “एकातिर पश्चिमा संस्कृति अनुकरण गर्ने प्रवृत्ति र अर्को्तिर आफ्नो संस्कार र प्रतिष्ठा जोगाउनुपर्ने पिरलोले जटिल समाजमा हुर्कन बाध्य बालबालिकालाई उचित अभिभावकत्व जरूरी देखिन्छ”, उनी भन्छन् ।

सबैको प्रतिक्षा, बाल यौनशिक्षा

बालबालिकालाई प्राथमिक कक्षादेखि नै यौन शिक्षा दिने अभ्यास भएका युरोपेली देशहरूमा यौन हिंसाको घटना न्यून छ । सन् १९५६ देखि नै विद्यालयहरूमा यौन शिक्षालाई अनिवार्य गर्दै आएको स्वीडेन त्यसको सफल उदाहरण हो । यौन शिक्षालाई प्राथमिकता नदिएका देशहरूमा भने यौन हिंसा र यौवनावस्थामा हुने प्रजननदर बढ्दो पाइन्छ ।

नेपालको सन्दर्भमा यौन शिक्षालाई पाठ्यक्रममा समावेश गर्न ढिला भइसकेको शिक्षाविद् माथेमा बताउँछन् । उनी भन्छन्, “बालबालिकालाई मात्रै यौन शिक्षा दिएर पुग्दैन, उनीहरूलाई सुशिक्षित बनाउने जिम्मेवारी बोकेका अभिभावक र शिक्षकहरूलाई पनि यसबारे बुझाउनुपर्छ ।”

नेपाल सरकारले शैक्षिक सत्र २०५५र५६ देखि उच्च माध्यमिक विद्यालयहरूमा स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षा विषय समावेश गरी त्यसैभित्र प्रजनन् स्वास्थ्य शिक्षा राखेको थियो । तर, समाजमा व्याप्त यौन हिंसाका घटनाहरू हेर्दा प्राथमिक तहदेखि नै यौन शिक्षा समेट्न जरूरी देखिएको विज्ञहरू बताउँछन् ।

यौन शिक्षा दिएमा कलिलै उमेरमा बालबालिका यौनजन्य गतिविधितर्फ उक्सन्छन् भन्ने मानसिकता गलत भएको डा. उप्रेतीको धारणा छ । उनी भन्छिन्, “बरु यसले बलात्कार र यौन हिंसा जस्ता घटनालाई न्यूनीकरण गर्न मद्दत र्पुयाउँछ ।”
हिमाल खबरद्धारा साभार ।

प्रतिकृया