रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
प्रकाशित मिति
२०८३ भाद्र २२ गते, सोमबार ०१:११
२२ भदौ २०८३ काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडितहरूसँग भेटघाट गर्दै उनीहरूको गुनासोसमेत सुनेका छन्। उनले नुवाकोटमा भोटेकोशी बाढीले पुर्याएको क्षति तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका हुन्।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीबाट भएको धनजनको क्षतिको विवरण राष्ट्रपतिलाई प्रस्तुत गरेका थिए। सो क्रममा बाढीपीडितको खोज तथा उद्धार, राहत, पुनर्स्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे पनि जानकारी गराइएको थियो।

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्। त्यहाँ प्रभावित नागरिकहरूले बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका थिए।
यसै क्रममा राष्ट्रपति पौडेलले नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका छन्।





प्रतिकृया