• १२ असोज २०८३, सोमबार
  • ५ः३५ बिहान

चार वर्षपछि बन्यो झोलुंगे पुल

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०५:३६

 हुम्ला सिमकोट : निर्माण कम्पनीसँग गरेको सम्झौताको चार वर्षपछि झोलुंगे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। पुलका लागि आवश्यक सामग्रीको तौलमा परेको फरकलाई प्राविधिकले भेरिफिकेसन गरेपछि निर्माण कम्पनीले पुल निर्माण थालेको थियो।

National Life

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको चार टाँगेमा झोलुंगे पुल निर्माण सकिएको स्थानीय कालीबहादुर शाहीले बताए। पुल निर्माण नहुँदा स्थानीय बासिन्दा, पैदल यात्रु र पशुवस्तु जोखिम मोलेर काठेपुल तर्दै आएका थिए। ०७४ साल चैत १२ गते तत्कालीन जिल्ला विकास समितिको झोलुंगे पुल शाखाले पुल निर्माणका लागि टेन्डर आह्वान गरेर अर्जुन निर्माण सेवा छनोट भएको थियो।

 

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौतामा प्राविधिकले सामग्रीको तौल भुलवश ७२ हजार केजी तौल हुनुपर्नेमा ६२ हजार केजी सामानको मात्र इस्टिमेटमा समावेश गरेको जानकारी पत्ता लागेपछि निर्माण रोकेको निर्माण कम्पनीका प्रतिनिधि दीपक रावतले बताए।पुलको सामानको तौलमा फरक परेपछि काम अगाडि बढ्न नसकेको उनको भनाइ छ। पुलका लागि आर्थिक सहयोग गरेको डोलिडारले जिल्ला समन्वय समितिको सिफारिसमा छुटेको सामानको भेरिफिकेसन गरेपछि पुल निर्माण सम्पन्न गरेको उनले बताए। पुल निर्माणसँगै सञ्चालनमा समेत आएको छ।

 

एक करोड ६५ लाखमा अदानचुली, चंखेली, सर्केगार्ड र सिमकोट गाउँपालिकाका गरी आठ वटा झोलुंगे पुलको सामान जिम्माअनुसार ढुवानी गरेर ल्याएको र अन्य सात वटा पुलको ०७४ सालमै काम सम्पन्न गरे पनि चार टाँगेको काम रोकिएको थियो। पुलको स्थलगत निर्माण भने स्थानीय उपभोक्ता समितिबाट भएको हो।

प्रतिकृया