• २७ भदौ २०८३, शनिबार
  • १०ः२१ बिहान

कोरोना भाइरसका कारण कक्षा छोड्ने दर बढ्न सक्ने अनुमान

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार १०:०८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याइएको छ ।

National Life

सङ्क्रमणका कारण वैशाख २ देखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहनसक्ने आकलन गरिएको छ ।

यो अवस्थामा विद्यालय तथा शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने तथा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि प्रविधिमार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने खाँचो शिक्षासम्बद्ध व्यक्तिहरूले औँल्याउनुभएको छ । यसमा स्थानीय सरकार र अभिभावकको पनि समन्वयकारी भूमिका अपेक्षित हुने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सहरबाट गाउँमा
अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी कोरोना सङ्क्रमणले आफ्नो जीविकोपार्जन गर्न समस्या भएर पढ्नका लागि सहरी क्षेत्रमा बसेका झन्डै ४० प्रतिशत मानिस गाउँमा पुगेको बताएका छन् । जनजीवन सामान्य भएर आफ्नो व्यापार, व्यवसाय तथा पेसा पुरानै अवस्थामा सञ्चालन आउने वातावरण नबनेसम्म गाउँमा पुगेका नागरिक सहरमा आउन नसक्ने भन्दै यसले बालबालिकाको पठनपाठनलाई प्रत्यक्ष रूपले प्रभावित पार्ने विश्लेषण छ । “विद्यालय नखुलेको अवस्थामा पनि प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिने प्रयास गरिनुपर्छ”, उनको भनाइ छ ।

सम्पर्क नै जोड्ने कडी
बुटवलस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक विद्यालय खुल्न नसकेको यो अवस्थामा विद्यालय चनाखो हुन नसके विद्यार्थीको कक्षा छोड्ने दर बढ्ने बताएका छन् । विद्यार्थीको कक्षा छाड्ने दर घटाउन आफूहरूले कक्षा शिक्षकमार्फत अभिभावक र विद्यार्थीसित सम्पर्क कायम गर्दै प्रविधि तथा माध्यमले पढाउन सुरु गरेको जानकारी उनले दिएका छन् । विद्यालयले शिक्षकमार्फत ‘घरघरमा विद्यालय’ भन्ने अभियान नै सुरु गरेको छ । सहरी क्षेत्रका धेरै सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा न्यूून विद्यार्थी भर्ना हुने तथा यसको असर संस्थागत विद्यालयमा समेत पर्ने उनको आकलन छ ।

प्रधानाध्याकको सक्रियता जरुरी
राजधानीको ज्ञानोदय माध्यमिक विद्यालय कलङ्कीका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा आफ्ना विद्यार्थी कहाँ छन् भन्ने कुरामा यति बेला विद्यालयका प्रधानाध्यापक सक्रिय हुनुपर्ने र त्यसो नगरिए विद्यार्थीले कक्षा छोड्ने क्रम बढ्न सक्ने बताएका छन् । विद्यालयमा शिक्षक तथा अभिभावकसित सम्पर्क स्थापित गर्ने प्रविधि र प्रवृत्ति दुवै अभाव रहेको उनले स्पष्ट पारेका छन् ।

विद्यार्थीको पढाइ यस पटक दुई तीन महिना धकेलिन सक्ने भएकाले शिक्षकहरू सबैभन्दा चिन्तित हुनुपर्ने उनको भनाइ छ । दैनिक ज्याला मजदुरी गरेर सहरी क्षेत्रका सामुदायिक विद्यालयमा पढाएका धेरै अभिभावकको रोजगारी गुम्ने देखिएकाले यसको असर बालबालिकाको पढाइमा परी कक्षा छाड्न सक्ने उनको भनाइ छ ।

खोज्नुपर्छ विद्यार्थी
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकारीहरूले विद्यालयका कक्षा कोठा नियमित कक्षा सञ्चालन हुन नसकेको अवस्थामा विद्यार्थीको सिकाइमा विमुख नहुने हिसाबले अगाडि बढ्नुपर्ने अवस्था रहेको जनाएका छन् । केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यालय नखुलेसम्म प्रविधिको माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । केन्द्रका महानिर्देशक डा। तुलसी थपलियाले यस पटक भर्ना अभियान सञ्चालन हुन नसकेको अवस्थामा नयाँ विद्यार्थी विद्यालयसम्म आउन समस्या पर्न सक्ने बताएका छन् । गोरखापत्रबाट साहाभार

प्रतिकृया