भक्तपुर छिर्ने सवारीसाधनलाई जीवाणु निर्मलीकरण गर्न शुरु
प्रकाशित मिति
२०७७ बैशाख ६ गते, शनिबार ०५:३८

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको र केही दिनभित्रै अरनिको राजमार्गकै वैकल्पिक सडकअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडक तथा भक्तपुर–काठमाडौँ पुरानो बाटोको पेप्सीकोला नाका भएर मध्यपुरथिमि प्रवेश गर्ने सवारीसाधनलाई नाकामा निसङ्क्रमण गर्ने तयारी भएको जानकारी दिए ।

प्रत्येक नाकामा सम्बन्धित नगरपालिकाले निसङ्क्रमण गर्ने व्यवस्था गर्ने गरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सहयोग र समन्वय गरेका छन् । सवारीसाधनलाई निसङ्क्रमण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको छ ।
रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुर प्रवेश गर्ने जडीबुटी र साँगा नाकामा तीन तीन जना स्वयंसेवक परिचालन गरी सवारीसधानको भित्र र बाहिर जीवाणुनाषक स्प्रे गरेर सवारीसाधनलाई जीवाणुमुक्त बनाउने काम गरेको जानकारी दिए ।
मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले पनि पेप्सीकोला नाका र नाला नाकाबाट भित्रिने सवारीसाधनलाई निसङ्क्रमण गर्ने तयारी गरेका छन् । रेडक्रसले केही दिनमै यी दुई नाकामा पनि निसङ्क्रमण गर्न शुरु गर्ने सभापति थापाले जानकारी दिए ।



प्रतिकृया