लकडाउन लम्बीएसंगै राहत वितरण सामाजिक संघसंस्था तथा दाताहरूको संक्रियता बढ्यो
प्रकाशित मिति
२०७७ बैशाख ४ गते, बिहीबार ०४:५२
काठमाडौँ, ‘लकडाउन’ प्रभावित गरिव, मजदुर, श्रमिक तथा ज्यालादारी गरी गुजारा गर्ने सर्वसाधाणका लागि विभिन्न सामाजिक संघसंस्था तथा दाताहरू राहत वितरणमा अग्रसर देखिएका छन् । सरकारले सञ्चालन गरेको प्रत्येक नगरपालिका तथा गाँउपालिकाको वडास्तरिय राहत वितरण कार्यक्रम प्रयाप्त नभएकाले सामाजिक संघसंस्था र दाताहरू पनि अग्रसर देखिएका हुन । यो एकहप्तामा काठमाडौँमा एककरोड भन्दा बढीको राहत वितरण भएको छ ।

कुलेश्वरका थोकखाद्य स्टोर ब्यापारीहरूले कुलेश्वर–कालिमाटीक्षेत्रमा तीनहजार परिवारलाई चामल, दाल, तेल, नुन र गेडागुडी लगायतका खाद्य सामग्री वितरण गरेको छ । युवा व्यवसायी जीवन चलाउनेले भरिया, मजदुर, श्रमिक र विपन्नलाई राहत वितरण गरिएको बताउनुभयो ।
स्थानीय वडा र प्रहरीसंगको समन्वयमा युवा व्यवसायीहरू तथा खाद्य स्टोर ब्यापारीहरू सहकार्य गरी राहत वितरण गरिएको हो । राहत लिन आउनेहरूलाई सामाजिक दुरी कायम राखी सहभागी भएका सबैलाई राहत वितरण गरिएको जानकारी उहाँले दिनुभयो ।

त्यस्तैं, ठमेलस्थित लर्ड अफ डिङ्स नेपाल (एलओडी) संस्थाले पनि करीव पाँचसय घरपरिवारलाई पाँचकिलो चामल, एक–एक किलो दाल, गेडागुडी, तेल, आलु लगायतका राहत सामग्री वितरण गरेको छ ।
एलओडी नेपालका सञ्चालक भूपेन्द्रजंग कुँवरले राहतका लागि गरिव, मजदुर तथा श्रमिकहरूले सरकारकै मुख ताक्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताउनुभयो । ठमेल, सोह्रखुट्टे र गल्को पाखो क्षेत्रका मजदुर र गरिव परिवारलाई राहत वितरण गरिएको छ ।
यसैबीच, इविजा लायन्स क्लव ठमेल र फायर क्लवले पनि रात्रिकालिन व्यवसायमा आवद्ध श्रमिक महिलाहरूलाई राहत वितरण गरेको छ । डिस्को, डान्स र दोहोरीमा आवद्ध महिलालाई सरकारी राहतले नसमेटेकाले क्लवहरूले राहत वितरण गरेको अध्यक्ष दावाङ तामाङले बताउनुभयो ।
यसअघि सुमी फर्मास्युटिकल्स प्रालिले पनि सर्वसाधारणको राहतका लागि नेपाल सरकारलाई एक करोड मूल्य बराबरको सेनिटाइजर प्रदान गरेको छ । कोरोना संक्रमण महामारी रोकथाम तथा नियन्त्रण कोषमा नगदका अतिरिक्त सेनिटाइजर प्रदान गरेको प्रालिले जनाएको छ ।
लकडाउन लम्बीएसंगै विशेष गरी ज्यालादारी खाने मजदुर वर्ग, भरिया, मगन्ते, वृद्धा आश्रम, बालगृहहरूमा खाद्य संकट देखिएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि डोर–टु–डोर राहत वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका क्रममा घरभित्र नै बन्दी बनेका सर्वसाधारणले राहत वितरणलाई प्राथमिता दिन आग्रह गरेका छन् । तर, काठमाडौँ महानगरपालिकाले भने व्यवस्थित ढंगले राहत वितरणमा समस्या देखाएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान प्रधानले काठमाडौँमा बस्ने सबै नागरिकलाई राहत वितरण सम्भव नभएको बताउनुभयो । राहत लिन आउनेहरूको चापले कतिपय वडा कार्यालयहरूलाई वितरण गर्न समस्या परेको छ ।



प्रतिकृया