शिक्षाको क्षेत्रमा महालक्ष्मी नगरपालिकाले आमुल परिवर्तन नै गरेको छ: प्रमुख रामेश्वर श्रेष्ठ
प्रकाशित मिति
२०७६ फाल्गुन २६ गते, सोमबार ०३:५४
३ वर्ष पहिला र अहिलेको बीचमा हरेक सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या ३ दोबरले बृद्धि भएको छ
देशमा सकृय ७६१ सरकार मध्ये एक हो, महालक्ष्मी नगरपालिका सरकार । यस नगरपालिकाले १० वडालाई प्रतिनिधित्व गर्दै आएको छ । नयाँ नगरपालिका भएको हुनाले भौतिक विकासको आवश्यकतालाई परिपुर्ति गर्नको लागि विशेष पूर्वाधार विकास तर्फ ध्यान दिदैँ आएको छ । सडक, शिक्षा, स्वास्थ्यमा उत्कृष्ट योजना सहित काम गर्दै आएको महालक्ष्मी नगरपालिकाको प्रमुख रामेश्वर श्रेष्ठ बताउनुहुन्छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीः
महालक्ष्मी नगरपालिकाका योजना अन्तरगत हालसम्ममा के कामहरु सम्पन्न भए ?
यस आर्थिक वर्षको योजनाहरु तीब्रगतिमा अगाडी बढ्दै छन् । भौतिक पुर्वाधार संरचनाहरुको केही काम सम्पन्न भइसकेको छ भने केही टेण्डर प्रक्रियामा छन् । त्यस्तै सामाजिक क्षेत्रमा विभिन्न सिपमुलक तालिम संचालन भइरहेको छ । यी कामहरुमा कतिपय सम्पन्न भएर प्रमाण पत्र हस्तान्तरण भइसकेको छ भने कति संचालन भइरहेका छन् । यी कामहरुबारे अहिले संख्यामा भन्नलाई गाह्रो छ ।
काम गर्ने क्रममा के कस्तो चुनौतिको सामना गर्नुपर्यो ?
हाम्रो नगरपालिकामा चुनौतिको सन्दर्भमा दुई किसिमको चुनौति रहे । एउटा यो नगरपालिका पूर्वाधार विहिन नयाँ नगरपालिका भएको हुनाले विकासका लागि आवश्यक बजेटमा कमि रहेको छ । २०६८ सालको जनगणनामा जनसंख्याको दर कम थियो तर अहिले अत्याधिक मात्रामा जनसंख्या बृद्धि भएको हुनाले बजेटमा कमि आएको छ । हामीलाई विकास बजेट कम आएकोले विकास योजना संचालन गर्न चुनौति बनेको छ ।
दोस्रो भनेको मानव संसाधनको छ । नेपाल सरकारबाट समायोजन भएर आउँदा जुन किसिमको कर्मचारी आउनु पथ्र्यो, त्यो नभएर क्षमतामा कमि आएको छ । यसका लागि हामीले विभिन्न तालिम दिएर प्रोत्साहन गराउदै अगाडी बढाएका छौँ । प्राविधिक जनशक्तिमा पनि कमि भएको हुनाले हामीले बनाएको कार्य योजनाहरु कार्यन्वयन गर्न चुनौति देखिएको छ ।
प्राविधिक क्षमतालाई बृद्धि गराउनको लागि के कदम चाल्नु भएको छ ?
हाम्रो नगरपालिकामा समायोजनबाट आएका कर्मचारीको लागि विभिन्न किसिमको तालिम गर्दै आएका छौँ । हामीले आवश्यकता अनुसार आइ.टि डिपार्टमेन्टलाई विकास गर्नका लागि विशेषज्ञद्धारा तालिम प्रदान पनि गरेका छौँ । कर्मचारीमा सकारात्मक सोच अभिबृद्धि गर्नुपर्ने देखिएकोले उहाँहरुलाई अभिप्रेरित गर्नको लागि बाहिरबाट विशेषज्ञहरु निमन्त्रणा गरेर तालिम दिने गरेका छौँ । आएका समस्यालाई सम्बोधन गर्नका लागि र उहाँहरुको क्षमतालाई बृद्धि गर्नका लागि दोहोरो संवादले काम गर्दा सहजता आउने उदेश्यले काम गर्छौ । हामीले क्षमता अनुसार तालिम आयोजना गरेर बैठक अन्तरक्रियाहरु पनि नियमित रुपमा गर्दै काम अगाडी बढाएका छौँ ।
यस नगरपालिकाको योजना अन्तरगत बाँकी रहेको काम केके रहेको छ ?
प्रदेश सरकारबाट छुट्याएको काम अन्तरगत केन्द्र सरकारबाट छुट्याएको विकासका योजनाहरु ढिलो आएको थियो । कार्यान्वयन गर्नको लागि केन्द्र जानु पर्ने हुनाले यी कामहरुमा ढिलो भएको छ । त्यसभित्र कतिपय सडक कालो पत्रे गर्ने, खानेपानी ट्याङकीको निर्माण कार्य, ढलका व्यबस्थापनको काम गर्नुपर्ने छन् । ती कामहरु ठेक्कामा लागि सकेको छ ।
सबै काम टेन्डर प्रकियाका लागि गइसकेको छ । अब काम सुरु गर्ने तरखरमा छौँ । टेण्डरको लागि न्युनतम ३० दिनको सुचना राखेर ७ दिनसम्म आव्हान गर्नका लागि आक्षेप पत्र दिनु पर्यो । यो सबै गर्दा ४५ दिन लाग्छ । त्यपछि उहाँहरुले आफ्नो काम सुरु गर्नुहुन्छ ।
के प्रदेश सरकार अन्तरगतका काम आर्थिक वर्षसम्ममा सम्पन्न भइसक्छ ?
हाम्रो विकास योजनाहरु यो आर्थिक वर्षको नै हो त्यसैले कुनै पनि हालतमा हामीले यो म्यादसम्ममा सक्नै पर्छ ।
बजेट विभाजन गर्दा कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नु भएको छ ?
हाम्रो नगरपालिकाको नगर सभाबाट बजेट विनियोजन गर्दा कुल बजेटको ८० प्रतिशत पूर्वाधार विकासको र २० प्रतिशत सामाजिक विकासका लागि राखेका छौँ । हामीले पूर्वाधार विकासका लागि नै जोड दिएर अगाडी बढेका छौँ । त्यो अनुसार विकासका निम्ति वडामा बजेट पठाएका छौँ । नीतिगत निर्णय अनुसार ८० प्रतिशत सडक विस्तार, सडक सिमांकन, कालो पत्रे, ढलका काम, खानेपानी, वाल लाउने कामका लागि सबै वडामा खर्च गर्छौ ।
२० प्रतिशतमा रोजगारी र उद्यमी बनाउनका निम्ति युवा, एकल महिलाको क्षमता अभिबृद्धि गराउनका लागि बुटिक, ब्युटी पार्लर, सिलाइबुनाइ लगायतका तालिमबाट रोजगारीको सृजना गरेर उद्यमी बनाउन मद्दत गर्छौ । उद्यमीको समुह बनाएर बढि आयआर्जन गर्नतर्फ प्रोत्साहन गर्छौ । उद्यमी समुहबाट उठेको रकमले नपुगेको खण्डमा हामीले सहकारीहरुसँग संयोजन गरेर कम ब्याज दरमा ऋणको लागि पनि मद्दत गर्छौ ।
शिक्षाको क्षेत्रमा के काम भइरहेको छ ?
शिक्षाको क्षेत्रमा महालक्ष्मी नगरपालिकामा आमुल परिवर्तन नै गरेका छौँ । हामीले निर्वाचनको क्रममा घोषणा पत्रमा उल्लेख गरे अनुसार गुणस्तरीय शिक्षा दिएर बिद्यार्थीहरुको चौतर्फी विकास गर्नुपर्छ भनेर बिद्यार्थीलाई केन्द्रीय भागमा राखेर शिक्षा नीति अगाडी बढाएका छौँ । हामीले त्यो अनुसार कार्यक्रमहरु सुरु गर्यौ । महालक्ष्मीका सामुदायिक विद्यालयमा ३ वर्ष पहिला र अहिलेको बीचमा हरेक विद्यालयमा विद्यार्थीको संख्या ३ दोबरले बृद्धि भएको छ ।
पहिला महालक्ष्मी नगरपालिकामा पूर्ण साक्षर घोषणा भएको थिएन । नगरपालिकालाई पूर्ण साक्षर बनाउनका निम्ति हामी निर्वाचित जनप्रतिनिधिहरु वडाको हरेक घरमा गएर डाटा संकलन गरेका थियौ । कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले अगाडी बढेका थियौ । हामीले यकिन गरेर महालक्ष्मीलाई पूर्ण साक्षर घोषणा गरेर जिल्लामा पनि पठायौँ ।
हाम्रो नगरपालिकामा प्राविधिक शिक्षा ल्याउछौ भनेका थियौ । हाम्रो नगरपालिकामा भएका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षामा परिणत गर्न सक्यँौ । हामीले पाँचवटा सामुदायिक विद्यालयलबाट प्राविधिक शिक्षा प्रदान गरेका छौँ । यो वर्ष दुईवटा विद्यालयलाई दिन्छौँ । यसरी क्रमश सबै विद्यालयलाई प्राविधिक धार तर्फ जोड्छौ । अहिलेको शिक्षाले रोजगारी सिर्जना गर्न नसकेर उद्यमी बनाउन सकेन त्यसैले हामीले प्राविधिक शिक्षामा जोड दिनुपर्छ भनेर नीति अवलम्बन गरेर कार्यन्वयन गरेका छौँ ।
त्यसैगरी शिक्षकहरुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ, क्षमता बृद्धि गर्न के गर्न सकिन्छ भनेर शिक्षक, अभिभावक, व्यवस्था समितिको भेला गरेर त्यहाँबाट आएका सुझावहरुलाई सम्मिलित गरेर हामीले ऐन पनि बनायौँ । अहिलेसम्म सँघ प्रदेशले नबनाएको शिक्षा ऐन महालक्ष्मी नगरपालिकाले बनाएको छ । हामीले शिक्षा ऐन बनाइसके पछि विनियम र कार्यविधि बनाएर शिक्षालाई व्यबस्थापन गर्न निजी, गुठी र सामुदायीक तीन वटैको नियमन र अनुगमन गरेर अगाडी बढ्यौ । शिक्षकहरुका लागि विभिन्न तालिम आयोजना गर्यौ । विद्यार्थी उन्मुख भएर कसरी पढाउने, प्रश्नपत्र कसरी बनाउने, व्यवहारिक ज्ञानको जानकारी दिने नीतिले अगाडी बढ्यौ ।
हामी निर्वाचन भएर आएको ६ महिना पछि नै हरेक शिक्षकहरुको मासिक तलबको व्यबस्था गर्यौ । जब शिक्षक मानसिक रुपमा तनाव मुक्त हुन्छ तब मात्र विद्यार्थीले स्तरिय शिक्षा पाउँछ भन्ने उदेश्यले हामीले विशेष ध्यान दिएर योजना गर्यौ । पहिलो चोटि नगरपालिकाको स्रोतको परिचालन गरेर तलब उपलब्ध गरायौँ । महालक्ष्मी नगरपालिका मासिक तलब उपलब्ध गराउने पहिलो नगरपालिका पनि भएको छ ।
हामीले व्यवहारिक शिक्षा र प्रोजेक्ट बेस काम गराएर लानु पर्छ भनेर प्रयोगात्मक गाइड म्यान्युल बुक पनि बनायौँ । शिक्षकले पढाएको विषयमा प्रयोगात्मक अभ्यास गराएर सैदान्तिक र व्यवहारिक विद्यालाईसँगै अगाडी बढाउने योजना रहेको छ । विद्यार्थीको चौतर्फी विद्याको लागि भनेको पढाई मात्र होइन नगरपालिकाको योजना अन्तरगत विभिन्न शारीरीक, मानसिक, बौदिक विकास गर्नका निम्ति अतिरिक्त क्रियाकलापलाई पनि नियमित रुपमा संचालित गर्यौ ।
आउँदो शैक्षिक सत्रमा हाम्रो नगरपालिकाको पहिचान सहितको नैतिक शिक्षा स्थानीयको पाठ्यक्रम र पाठ्य पुस्तक तयार गरिसकेका छौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार भइसकेको छ भने कक्षा १ र कक्षा ८ को पाठ्यपुस्तक तयार गर्दैछौ । शैक्षिक सत्रबाट हामी वितरण पनि गर्छौ । निजी, गुठी र सामुदायिकबाट ४८ वटा विद्यालयहरु संचालनमा छन् भने १५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा विशेष गरि महिला र जेष्ट नागरिकको लागि के योजना रहेको छ ?
महालक्ष्मी नगरपालिकाले स्वस्थ नगर बनाउनका लागि केही नीतिगत सुधारका कामहरुलाई अगाडी बढाएका छौँ । प्रथम, हामीसँग भएको संरचनाहरुको पूर्णस्थापना गरेर स्तरउन्नती गर्नुपर्छ भनेर लाग्यौ । हामीसँग लुभुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । यस वाहेक पनि चारवटा स्वास्थ्य चौकीहरु रहेको छ । तर केही सुविधा नभएर कोही बिरामी पनि उपचारका लागि नगएको अबस्था थियो ।
अहिले हामी आइसकेपछि बैठक मार्फत स्वास्थ्य चौकीलाई प्रोत्साहन गरेर आवश्यक सुधार गरेर उपचारको सुविधा उपलब्ध गरायौँ । हामीले त्यहाँ २४ घण्टा सेवा उपलब्ध गराउने बर्थिङ सेन्टर स्थापना गर्यौ । एक्से रे मेसिन राख्यौ, ल्याब र फार्मेसीलाई व्यवस्थित गरायौँ , डेन्टल सर्बिस उपलब्ध गरायौँ । हाल जाडोको समयमा पनि ६० जना दैनिक विरामी आउनुहुन्छ भने गत वर्षको गर्मीमा १५० जनासम्म भिजिटर रहेका थिए । यो वर्ष अझै धेरै विरामीहरु उपचारको लागि आउनु हुन्छ भन्ने आशा गरेका छौँ । यसको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरेका छौँ । नगरपालिको सबै क्षेत्रहरुमा खोप केन्द्रको बिस्तार गर्ने योजना रहेको छ । जनचेतनामुलक कार्यक्रम गरेर सचेत गराउने कामहरु गर्ने छौँ । अहिले हरेक वडामा स्वास्थ्य चौकीको सुधार भएर विरामीहरुले सेवा पाइरहनु भएको छ । हरेक वडामा महिनाको एकपटक निशुल्क स्वास्थ्य शिविर गर्दै आएका छौँ ।
त्यसैगरि नगरपालिकाले एकल महिला,अपाङ्ग,जेष्ठ नागरिकलाई अस्पताल पुर्याईदिने मान्छे नभएको खण्डमा हामीलाई खबर आउन साथ स्वास्थ्य चौकीबाट स्वम्सेवीकाहरुले घरमै गएर उपचार गर्ने व्यबस्था मिलाएको छ । यदि अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति भएको खण्डमा किस्ट अस्पतालबाट उपचार गराइनेछ । किस्ट अस्पतालसँग सहकार्य गरेर हाम्रो नगरपालिकाको स्थायी बासिन्दाहरुलाई १५ प्रतिशत सबै किसिमका सुविधा दिने व्यबस्था गरेका छौँ । कसैलाई पनि दीर्घ रोग लागेको अबस्थामा नेपाल सरकारले १ लाख दिने योजना रहेको छ । हामीले निजी स्रोतबाट रु७ हजार दिने योजना बनाएका छौँ । त्यस्तै एकल महिला,अपाङ्ग,जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको रुपमा सरकारले दिनेमा थप गरेर चौमासिक ५ सय दिदँै आएका छौँ । यी कामलाई पनि हामीले अगाडी बढाएर सुविधा दिदैँ आएका छौँ ।
भिजिट नेपाल २०२० मा महालक्ष्मी नगरपालिकाले पर्यटन भित्र्याउनको लागि के योजना बनाएको छ ? यहाँको आर्किर्षत थलो भनेर कुनलाई चिनाउनु हुन्छ ?
हामीले भिजिट नेपाल २०२० लाई आधार बनाएर पर्यटन पूर्वाधार विकास गर्दा महालक्ष्मी नगरपालिकाको लाकुरी भन्ज्याङ रहेको छ । हामीले यहाँ मनमोहन भ्यु टावर र मनमोहन पार्क बनाउनको लागि डिपिआरको काम सुरु गरेका छौँ । हाम्रो योजना यसलाई अर्को वर्षसम्ममा सक्काउने रहेको छ । यही वर्ष हामीले साइकलिङ रुट, फुट टे्ल बनाउनको लागि तयारी गर्दैर्छौ । हामीले २.५ कि.मी बनाइसकेको र अर्को हाइकिङ रुट बन्दै गरेको अबस्था छ । विषेश गरि त्यसबाट हामीले हाम्रो नगरपालिकामा आन्तरिक र राष्ट्रिय पर्यटनलाई लाकुरी भन्ज्याङमा आकर्षण गर्नको लागि बाटोलाई विषेश ध्यान दिएर काम गरेको छौँ । पैदल यात्रीहरुलाई बाटोको मनोरम दृश्य अवलोकन गर्नको लागि पैदल मार्गहरु बनाएका छौँ ।
लाकुरी भञ्ज्याङका धेरै विषेशता मध्य यहाँबाट ८ वटा हिमालहरुको दृश्य सँगै सूर्य उदाएको र अस्ताएको मनमोहक दृश्य देख्न सकिन्छ । साथै उपत्यकाको मनोरम दृश्यसँगै काभ्रे भ्यालीको अवलोकन पनि गर्न सकिन्छ । त्रिभुवन विमान स्थलबाट लाकुरी भन्ज्याङ १६ कि.मी दुरी मात्र भएको हुनाले अझै सहज र आकर्षित गन्तब्य हुन सक्ने सम्भावना बोकेको छ ।
हामीले नेपाल सरकारसँग पर्यटकका लागि लाकुरी भञ्ज्याङ आकर्षक गन्तब्य बन्न सक्ने सम्भावना प्रस्तुत गरेका थियौँ । तर उहाँहरुको ध्यानाकर्षण गराउन नसकेपछि हामीले आफ्नो ढङ्गले वासिन्दालाई होटल र बजार बसाउँनका लागि अनुरोध गरेका छौँ । आन्तरिक रुपमा हामीले त्यहाँ जग्गा खरिद गर्नु भएको उद्यमी, व्यवसायीहरुलाई अनुरोध पनि गरेका छौँ।तपाइहरु त्यहाँ गएर होटल, रिर्सोट संचालन गर्नुस् जसले गर्दा त्यहाँ बस्ने स्थान, सभासम्मेलन गर्ने स्थान हुन्छ । उहाँहरुको सकारात्मक प्रतिकृया नै आएको छ बनाउँछौ भनेर तर हालसम्म नबनेता पनि हामी आशावादी नै छौँ ।
पर्यटन मन्त्रालयले एउटा रिर्सोट मात्र बनाइदिनु भन्दा पनि नबनेको स्थिति छ । नेपाल सरकारले जसरी नगरकोट र ककनीमा बिकास गर्नको लागि होटल निर्माण गरिदिएको थियो त्यसैगरी लाकुरी भन्ज्याङमा पनि बनाइदिनु भयो भने यो नगरपालिकाको विकास हुने थियो र लाकुरी भन्ज्याङलाई पर्यटकीय गन्तब्य बनाउने सपना पुरा हुने थियो ।
अब आन्तरिक रुपमा आफैपनि बनाउँदै जाने र नेपाल सरकार,केन्द्र र प्रदेशमा क्रमश अनुरोध गर्दै जाने योजना रहेको छ । हामीले बाटो कालो पत्रे गर्नको लागि केन्द्रिय सरकारसँग ५।५ करोडको सहलगानीको प्रस्ताव पनि पारित भएको थिएन । त्यसैगरी प्रदेश सरकारलाई पनि म्यासिब फन्डका लागि नगरपालिकाको काम सहलगानीमा गराँै भनेर प्रस्ताव गर्दा पारित भएन । हामीले केन्द्रिय सरकारलाई अनुरोध गरेर ७ करोडको बजेट टेण्डर लिएका छौँ । यसरी हामीले पूर्वाधारको विकासका लागि काम गरिरहेका छौँ । मुख्य बाटोको आवश्यकता भएको हुनाले हामीले यसलाई फराकिलो बनाएर कालो पत्रे गर्ने काम गर्दैछौँ । खाने पानी पुर्याउनको लागि पाइपिङको काम सुरु गर्दैछौँ ।
बाटोको काम कहिले सम्म सकिन्छ ?
यो काम केन्द्रिय अन्तरगत परेको हुनाले हामीले गरेर हुदैन । हामीले केन्द्रसँग पटकपटक अनुरोध गरिरहेका छौँ । मलाई लाग्छ सम्भवत अर्को वर्ष बजेट परेर काम सम्पन्न हुन्छ ।
७ करोड बजेट अन्तरगत के काम भए ?
टेण्डर निक्लियो तर केन्द्रिय सरकारको बजेटमा कस्ले पार्यो भन्ने कुरा थाहा हुदैन । जब काम गर्नको लागि स्थानीय वासिन्दाबाट अपठ्यारो आउँछ तब मात्र नगरपालिकालाई जानकारी हुन्छ । त्यसकारण अहिलेसम्म उहाँहरुले काम सुरु गर्नु भएको छैन । हामीले आफ्नो तरिकाले खोजी गर्दैछौँ, जानकारी पाएको छैनौ ।
नयाँ भवन निर्माण योजना कहाँ पुगेको छ ?
हामीले भवन निर्माणको लागि प्रक्रिया अगाडी बढाएका छौँ । हाम्रो नगरपालिकाको आफ्नो जमिन छैन । आफ्नो जमिन नभएपछि नेपाल सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्दैन । हामीले पनि केही म्यासिब फन्डको लागि नगरपालिकाले नै निर्माणका लागि बजेट छुट्याएका छौँ । हामी सार्वजनिक जमिन खोज्ने प्रक्रियामा छौँ । त्यस पश्चात बोर्ड बैठकबाट निर्णय गरेर नगर सभा मार्फत केन्द्रिय सरकारबाट पारितको प्रकियामा अगाडी बढिरहेका छाँै ।
भवन निर्माण गर्नका लागि चिहान डाँडाँलाई छनौट गरिएको सुनिन्छ नि ?
चिहान डाँडाँमा सार्वजनिक जग्गा रहेको छ तर हिजोको दिनदेखि नै यो जग्गा ५ नं वडामा परेको भएता पनि ६ नं वडाको नेवार समुदायका वासिन्दाले मृत्यु संस्कारका लागि प्रयोग गर्दै आएको छ । मृत्यु संस्कारको लागि प्रयोग भएको हुनाले नै यसलाई चिहान डाँडाँ भनिएको हो । यसमा केही भागको जग्गाहरु छोडेर बाँकी रहेको भागको जग्गा मात्र खरिद गर्न मिल्छ । त्यो जग्गा खरिद गर्नका लागि हाम्रो ५,६,७ का वडा अध्यक्ष आवश्यक प्रक्रियाका लागि अगाडी बढिरहनु भएको छ । खरिद गर्ने प्रकिया पर्ुयाइसकेपछि बोर्डमा बैठक बसेर जग्गा प्राप्तीको लागि सिडियोको अध्यक्षतामा खरिद प्रक्रियाको समिति बनाएर पठाउन बाँकी छ ।






प्रतिकृया