• २० भदौ २०८३, शनिबार
  • ५ः४२ बेलुका

सूर्यविनायक नगरपालिकामा सांसद बस्नेतद्वारा डिपबोरिङको उद्घाटन, प्रतिघण्टा २० हजार लिटर पानी उत्पादन हुने

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०९:३२

भक्तपुर, सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण सम्पन्न गरेको डिप बोरिङको शनिबार उद्घाटन भएको छ । स्थानीय दाता एवं व्याबसायीको रु.१७ लाख र सरकारको १० लाख गरि जम्मा रु. २७ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त डिप बोरिङको शनिबार प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको हो । प्रतिघण्टा २० हजार लिटर पानी उत्पादन हुने यो डिप बोरिङको खानेपानीले ५०० भन्दा बढी धारा वितरण गर्न सकिनेछ ।

National Life

कार्यक्रममा सांसद बस्नेतले निजी क्षेत्र फस्टाउँदा पनि विकास र सामाजिक सेवामा टेवा पुग्छ भन्ने उदाहरण यहीबाट प्रस्तुत भएको चर्चा गर्दै यहाँको माग अनुसार ३ लाख लिटर क्षमता रहेको पानी ट्यांकी निर्माणमा आवश्यक बजेटको व्यबस्था गर्ने बताउनुभयो । सूर्यविनायक वडा नं. ८, ९ र १० को खानेपानीको उत्पादन एवं वितरणका लागि डिपिआर तयार भईसकेको बताउँदै खानेपानीको लागि यसै वर्ष पर्याप्त बजेट ल्याएर काम गर्ने प्रीतबद्धता व्यक्त गर्नुभयो । “अरनिको राजमार्ग खण्ड अन्तर्गत आदर्श बसस्टपबाट वडा नं। ८ कार्यालय जाने सडक विस्तार एवं कालोपत्र गर्नका लागि सूर्यविनायक नगरपालिकाले ६०–४० को साझेदारीमा ८० लाख बजेट विनियोजन गर्ने भएको छ,” –नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो– “त्यसको साथै मेरै पहलमा सहरी विकासबाट २ करोड, भौतिक योजना मन्त्रालयबाट ५ करोड बजेट आउँदैछ, यो सडक यसै वर्ष सम्पन्न हुन्छ ।”

उहाँले डोलेश्वर जाने सडकमा १ करोड ७५ लाखको लागतमा पुल र पर्खाल निर्माण पुरा हुन लागेको, रु. ५० लाखको बजेटमा डोलेश्वर सडक मर्मत हुन लागेको, सिपाडोल नंखेल सडक दुई महिना भित्र सबै कालो पत्र सम्पन्न गर्ने, चखुँ खोलाको पुल र चखुँ खोला किनारबाट सिपाडोल जाने सडक पनि यसै वर्ष निर्माण हुने उहाँको भनाई थियो ।

Classic Tech Desktop

पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले केहीदिन अघिमात्रै साँगाबाट काँक्राबारी, नैचाल, घ्याम्पे डाँडा, रानीकोट हुँदै फुल्चोकी पुग्नेगरि पदमार्ग निर्माण गरि शंखधर पदमार्ग नामाकरण गर्ने र यसैवर्ष बजेट विनियोजन गर्ने घोषणा गर्नु भएको जानकारी दिदै सांसद बस्नेतले नयाँ गन्तव्यको रुपमा साँगादेखि लाकुरी भञ्याङ्गसम्मको अर्को मार्ग खोल्ने सरकारले घोषणा गरिसकेको बताउनुभयो ।

उहाँले साँगादेखि लाकुरी भञ्याङ्गसम्मको मार्गमा सिपाडोल, गुण्डु क्षेत्रमा ईको भिलेज, होमस्टे, होटल, बन्जीजम्प, प्याराग्लाईडिङ्ग, जिप राईडिङ्ग संचालन गर्ने काक्राबारीलाई अर्गानिक खेतीको मुख्य क्षेत्र बनाउने सरकारले घोषणा गरेको बताउदै उहाँले लक्जम्बर सरकारले सहयोगमा ईको भिलेज बनाउने बताउनुभयो । सांसद बस्नेतले डोलेश्वर मन्दिरको निर्माणको अधूरो काम पुरा गर्न क्षेत्र विकास पूर्वाधार कोषबाट आफूले रु. २ करोड, प्रदेश सरकारबाट रु. १ करोड बजेट विनियोजन गरिने बताउनुभयो । गतवर्ष विकासका कामको शिलान्यासको वर्ष भएको बताउदै उहाँले यसवर्ष शिलन्याससंगै उद्घाटनको वर्ष हुने भनाई राख्नुभयो ।

कार्यक्रममा ३ नं. प्रदेशका सांसद शशीजंग थापाले विकासप्रेमी जनप्रतिनिधी भएको ठाउँमा बजेटको अभाव नहुने बताउदै ३ वटै सरकारको बजेटले भक्तपुरको विकासमा तिब्रता पाएको बताउनुभयो । उहाँले जताततै बजेट मागेर बजेटको एम्बुस नथाप्न अनुरोध गर्दै सरकारको शून्य लगानी र स्थानीय दाताकै सहयोगमा पनि ठूला योजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधी आएपछि सूर्य विनायक क्षेत्रको विकास नमूनाको रुपमा अगाडि बढेको चर्चा गर्दै नगरपालिकाले ६०–४० को लागतमा विकासका थप कामहरु अगाडि बढाउने बताउनुभयो ।

वडा नं। ८ का वडाअध्यक्ष किरण थापाले केही वर्ष अघिसम्म सूर्यविनायकमा दुर्गम क्षेत्रको रुपमा रहेको सिपाडोलमा अहिले विकासले फड्को मारेको बताउदै अब सिपाडोलमा खानेपानीको अभाव नहुने बताउनुभयो । उहाँले हाल २० हजार लिटरको क्षमताको ट्यांकीले तौडोल क्षेत्रमा २७० वटा धारा वितरण भएपनि अब आजबाट चालू भएको डिप बोरिङ्गबाट उत्पादन भएको पानी भण्डारण गर्ने ३ लाख लिटर क्षमताको ट्यांकी निर्माणसम्पन्न गरेपछि ५०० भन्दा बढी धारा वितरण गर्नसकिने बताउनुभयो ।

कार्यक्रममा डिप बोरिङ्गका लागि रु. ५० हजारदेखि रु. ६ लाखसम्मसहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको तौडोल खानेपानीका अध्यक्ष एवं कार्यक्रमका सभापति राजकुमार थापाले जानकारी दिनुभयो ।

 

प्रतिकृया