नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार १०:३६
८ भदौ २०८३ काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ। टेलिकमले चालू आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका ब्रोकर कम्पनीलाई सूचीकरणका लागि आवेदन दिन आग्रह गरेको हो।
सूचीकरणका लागि इच्छुक कम्पनी प्रचलित कानुनअनुसार कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति प्राप्त गरी नवीकरण गरेको र स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ।

टेलिकमका अनुसार ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्नेछ। आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद–बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ। ब्रोकरका रूपमा कम्तीमा दुई वर्षको अनुभव पनि अनिवार्य गरिएको छ।
यसका साथै कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ। यसरी तोकिएका मापदण्ड पूरा गर्ने योग्य ब्रोकर कम्पनीलाई नेपाल टेलिकमले चालू आर्थिक वर्षका लागि आफ्नो सूचीमा दर्ता गर्नेछ।




प्रतिकृया