आज गुरु पूर्णिमा, गुरु तथा वेदव्यासप्रति श्रद्धा अर्पण गर्दै देशभर मनाइँदै
प्रकाशित मिति
२०८३ श्रावण १३ गते, बुधबार ०८:१५
१३ साउन २०८३ काठमाडौं –आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा देशभर गुरु तथा शिक्षाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइँदै छ। यसै दिन धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका रूपमा व्यास जयन्ती पनि मनाउने परम्परा रहेको छ।
वैदिक परम्पराअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भएकाले अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरसरह सम्मान दिइएको छ भने ‘आचार्यदेवो भव’ भन्ने मान्यता स्थापित छ।

गुरु पूर्णिमाका अवसरमा देशभरका विद्यालय, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरी आफ्ना गुरु तथा शिक्षाप्रति सम्मान र कृतज्ञता व्यक्त गरिरहेका छन्।

यही दिन वेदलाई चार भागमा विभाजन गरी १८ पुराण र १८ उपपुराणको रचना गरेका महर्षि वेदव्यासको स्मरणमा व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नु पुण्य र अरूलाई दुःख दिनु पाप हो भन्ने मानवतावादी सन्देश दिएका छन्।




प्रतिकृया