• १६ असोज २०८३, शुक्रबार
  • ५ः४१ बेलुका

कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित

प्रकाशित मिति

२०८३ असार ६ गते, शनिबार १०:१५

६ असार २०८३ काठमाडौं – फरवार्ड मातियस कुन्हाको दुई गोलको मद्दतमा ब्राजिलले हैटीलाई सहज रूपमा पराजित गर्दै फिफा विश्वकप २०२६ मा पहिलो जित हासिल गरेको छ। यस हारसँगै हैटी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।

National Life

समूह ‘सी’ अन्तर्गत भएको खेलमा ब्राजिलले सुरुदेखि नै दबाबपूर्ण खेल प्रदर्शन गर्दै प्रभावशाली जित निकाल्यो। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आलोचनामा परेको प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले उत्कृष्ट पुनरागमन गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको हो।

ब्राजिलका लागि कुन्हाले २३औँ मिनेटमा पहिलो गोल गरे। हैटीका डिफेन्डर हानेस डेलक्रोइक्सको क्लियरेन्स उनकै खुट्टामा लागेर जाली चुमेपछि ब्राजिलले अग्रता लिएको थियो। त्यसपछि उनले पहिलो हाफ सकिन नौ मिनेट बाँकी रहँदा भिनिसियस जुनियरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले पनि गोल थपे। लुकास पाक्वेटाको उत्कृष्ट लामो पासलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए। ब्राजिलका लागि भने विंगर राफिन्हा चोटका कारण पहिलो हाफमै मैदान छोड्न बाध्य भए। उनको स्थानमा रयान क्रिस्टी मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफमा हैटीले केही अवसर सिर्जना गरे पनि ब्राजिलका गोलरक्षक एलिसनले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता सुरक्षित राखे। खेलको अन्त्यतिर युवा खेलाडी एन्ड्रिकले विश्वकप डेब्युमा गोल गरे पनि अफसाइडका कारण उक्त गोल मान्य हुन सकेन।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ। ब्राजिलले अब जुन २५ मा स्कटल्यान्डसँग खेल्नेछ भने हैटीले सोही दिन मोरक्कोको सामना गर्नेछ।

प्रतिकृया