• १६ असोज २०८३, शुक्रबार
  • ९ः३७ राती

आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने

प्रकाशित मिति

२०८३ असार ६ गते, शनिबार १०:२७

६ असार २०८३ काठमाडौं – उपत्यकाको सबैभन्दा लामो तथा प्रमुख जात्रामध्ये एक मानिने रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत आज भोटो जात्रा मनाइँदै छ। जावलाखेलमा आयोजना हुने भोटो जात्रामा राष्ट्रपतिसहित राज्यका उच्च पदस्थ अधिकारी तथा हजारौँ श्रद्धालुको सहभागिता रहनेछ।

National Life

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि र माणिक्य जडित बहुमूल्य भोटो चारैतिर फर्काएर देखाइने परम्परा छ। भोटो प्रदर्शनसँगै करिब तीन महिनादेखि जारी रातो मच्छिन्द्रनाथको रथजात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।

परम्पराअनुसार भोटो जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिन्छ। त्यहाँ छ महिनासम्म राखेपछि पुनः साइत हेरेर पाटनको मच्छिन्द्रबहालमा ल्याइन्छ। यसरी वर्षको आधा समय पाटन र आधा समय बुङ्मतीमा राख्ने चलन रहिआएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

करिब १६ सय वर्ष पुरानो मानिने मच्छिन्द्रनाथ जात्रा खेतीपाती र वर्षासँग सम्बन्धित रहेको विश्वास गरिन्छ। सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले करुणामयको रूपमा तथा बौद्ध धर्मावलम्बीले पद्मपाणि अवलोकितेश्वरका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्।

भोटो जात्राको रोचक किंवदन्ती

भोटो जात्रासँग जोडिएको प्रसिद्ध किंवदन्ती अनुसार कर्कोटक नागराजकी रानीको आँखा रोग निको पारेबापत एक किसानले मणिजडित भोटो उपहारस्वरूप प्राप्त गरेका थिए। पछि खेतमा काम गर्ने क्रममा उक्त भोटो हराएपछि एक भूतले लगाएको अवस्थामा भेटिएको र भोटोको स्वामित्वबारे किसान, भूत र नागराजबीच विवाद उत्पन्न भएको भनाइ छ।

विवाद समाधान हुन नसकेपछि तत्कालीन राजा वरदेवले प्रमाणसहित उपस्थित हुन आदेश दिएका थिए। त्यसयता “यो भोटो कसको हो ?” भन्ने प्रतीकात्मक सन्देशसहित चारै दिशातर्फ फर्काएर भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

पुल्चोकबाट सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा विभिन्न टोल परिक्रमा गर्दै जावलाखेलमा पुगेर भोटो जात्रासँगै समापन हुने गर्दछ। नेपालको सबैभन्दा लामो जात्राका रूपमा परिचित यो पर्व धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको मानिन्छ।

प्रतिकृया