• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०२:३९

३ असार २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले विरोध जनाएका हुन्। विरोधस्वरूप उनीहरूले संसदको वेल घेराउ गरेका थिए।

National Life

सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएकी थिइन्। तर उक्त जवाफ सन्तोषजनक नभएको भन्दै साम्पाङले थप प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए।

मन्त्रीको जवाफपछि साम्पाङले प्रतिप्रश्न गरे पनि त्यसको जवाफ पनि चित्तबुझ्दो नभएको भन्दै उनले पुनः प्रश्न गर्न पाउनुपर्ने अडान लिएका थिए। सभामुख डोलप्रसाद अर्यालले संसदीय प्रक्रियाअनुसार प्रतिप्रश्नमाथि फेरि प्रतिप्रश्न गर्न नमिल्ने स्पष्ट पारेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुखको निर्देशनपछि पनि साम्पाङ आफ्नो अडानबाट पछि नहटेपछि श्रम संस्कृति पार्टीका सांसदहरू वेलमा पुगेर विरोधमा उत्रिएका थिए। सभामुख अर्यालले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे।

यसअघि पनि वेल घेराउकै बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएका थिए।

विरोधका क्रममा सभामुख अर्यालले सांसदहरूलाई संसद्को विधि, नियमावली र संसदीय मर्यादा पालना गर्न चेतावनीसमेत दिएका थिए।

प्रतिकृया