• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

चिया पसल पुग्ने प्रधानमन्त्रीलाई चिया किसानको पीडा सुन्न फुर्सद छैन : निश्कल राई

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०२:२९

३ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले वार्षिक ३ करोड रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको भए पनि सरकारले यस क्षेत्रका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताएका छन्।

National Life

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै चिया उद्योग र किसानको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए।

‘प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद राईका अनुसार भारतले चिया निर्यातमा नयाँ तथा झन्झटिलो मापदण्ड लागू गरेपछि इलामका चिया उद्योगी र किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ का कारण चियाको गुणस्तर परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने र रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाइने अवस्था सिर्जना भएको उनले बताए।

उनले उक्त प्रावधानका कारण इलामका ८३ वटा चिया उद्योग तीन दिनदेखि बन्द रहेको जानकारी दिए। प्रतिवेदनमा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले उद्योग सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ छ।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर जाने, मजदुरको रोजगारी गुम्ने तथा उद्योगीहरूले बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको राईले बताए।

समस्या समाधानका लागि उनले सरकारले तत्काल भारतसँग सरकार–सरकार (जीटुजी) स्तरमा पहल गर्न, कूटनीतिक माध्यमबाट चिया निर्यातको दीर्घकालीन समाधान खोज्न, नेपालमै आधुनिक चिया परीक्षण प्रयोगशाला स्थापना प्रक्रिया अघि बढाउन तथा तेस्रो मुलुकमा निर्यात बजार विस्तार गर्न आवश्यक कदम चाल्न माग गरे।

प्रतिकृया