प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अवरोध जारी
प्रकाशित मिति
२०८३ जेष्ठ २५ गते, सोमबार ०१:१५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोधलाई निरन्तरता दिएका छन्। सोमबार केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्। प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।

उनीहरूले उक्त विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन्। यसै विषयमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पनि सत्ता पक्ष र विपक्षी दलहरूबीच छलफल भएको थियो। तर बैठकमा सहमति जुट्न नसकेपछि संसद्को गतिरोध कायम रहेको छ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण तथा सीमा सम्बन्धी विषयमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल ले संसदमा धारणा राख्ने प्रस्ताव गरेका थिए।

तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री शाहले नै संसद् बैठकमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान दोहोर्याएका छन्।
सत्ता र विपक्षीबीच सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक प्रभावित बनेको छ भने संसद्को गतिरोध कहिले अन्त्य हुन्छ भन्ने विषय अझै अनिश्चित बनेको छ।




प्रतिकृया