• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ११:५६

 काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा निर्धारित मितिमा कम्पनीकी अध्यक्ष  प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा कम्पनीको समग्र आर्थिक अवस्था, व्यवसायिक प्रगति, लगानी रणनीति तथा भावी कार्यदिशाबारे विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो।

सभामा बोल्दै अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र विभिन्न चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको बताउनुभयो। कोभिड महामारी तथा भू–राजनीतिक कारणले सिर्जना भएको विश्वव्यापी मुद्रास्फीति क्रमशः घट्दै गएको र त्यसको प्रभावस्वरूप अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरेको उहाँको भनाइ थियो। उहाँले नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आ.व. २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अपेक्षा गरिए पनि आ.व. २०८२/८३ मा बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण आर्थिक वृद्धिदरमा संकुचन आउन सक्ने आकलन गरिएको जानकारी दिनुभयो।

Kamana Sewa

अध्यक्षले कम्पनीको व्यवसायिक प्रगतिबारे जानकारी दिँदै आ.व. २०८१/८२ मा नेशनल लाईफको व्यवसाय सन्तोषजनक रहेको बताउनुभयो। समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १०.२६ प्रतिशतले वृद्धि भई रु. २,२५९.३७ करोड पुगेको छ। सञ्चालनबाट रु. १,४९८.५९ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ, जसका कारण कुल बीमा करार दायित्व १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा रु. ९,४५८.७७ करोड पुगेको छ।

Classic Tech Desktop

समीक्षा वर्षमा कम्पनीले मृत्यु दावी, अवधि समाप्ति तथा आंशिक अवधि समाप्ति दावी, समर्पण मूल्य र अन्य दावी शीर्षकमा कुल  ९४८.६५ करोड रुपियाँ बराबरको दावी भुक्तानी गरेको छ। यसले बीमितप्रति कम्पनीको उत्तरदायित्व र विश्वसनीयता थप सुदृढ बनाएको अध्यक्षको भनाइ थियो।

लगानी व्यवस्थापनका सन्दर्भमा अध्यक्ष सिंहले कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी, सुरक्षित तथा दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्दै आएको स्पष्ट पार्नुभयो। समीक्षा वर्षमा कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई रु. ७,७९०.२० करोड रुपियाँ पुगेको छ। लगानी प्रतिफललाई स्थिर राख्न दीर्घकालीन निक्षेपमा जोड दिइएको र आ.व. २०८१/८२ मा कम्पनीको वार्षिक औसत लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको जानकारी दिइयो।

कम्पनीले लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै आ.व. २०८२/८३ मा हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गरेको छ, जसबाट उक्त बैंकमा कम्पनीको स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ। यसैगरी मर्चेन्ट बैंकरका रूपमा प्रवर्द्धन गरिएको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालन सुरु गरेको र पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी पनि सभामा दिइयो।

पूर्वाधार विकासतर्फ कम्पनीले इटहरी शाखाका लागि आफ्नै स्वामित्वको जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। साथै कम्पनीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सूचना प्रविधिमा लगानी बढाइएको र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक प्राविधिक तालिममा विशेष ध्यान दिइएको छ।

कम्पनीले व्यवसायिक लक्ष्यसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिँदै खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित सहयोग अन्तर्गत समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष तथा बालस्वास्थ्य उपचार परियोजनाका लागि विभिन्न संस्थालाई गरी कुल ७० लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ।

३८ औं वार्षिक साधारण सभाले आ.व. २०८१/८२ का लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजीमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी नियामक निकायले तोकेको न्यूनतम सीमा पार गर्दै ५ अर्ब ६९ करोड रुपियाँ भन्दा बढी पुगेको छ।

सभाको अन्त्यमा अध्यक्ष प्रेमा सिंहले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आगामी दिनहरूमा पनि एक अग्रणी जीवन बीमा कम्पनीका रूपमा आम नागरिकको जीवन बीमा आवश्यकताको पूर्ति गर्न प्रतिबद्ध रहिरहने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकृया