चार मन्त्रीमध्ये दुईजनाको मात्रै शपथ, रोकियो सुनार र श्रेष्ठको
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार ०२:४०
कात्तिक ९, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नयाँ मन्त्रीका रूपमा सिफारिस गरेका चार जनामध्ये दुईजनाको मात्रै आज शपथ हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ स्थगित गरिएको छ भने बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले आज दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गर्नेछन्।
सरकारले गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो।
तर, श्रममन्त्रीका लागि सिफारिस गरिएका सुनारमाथि फौजदारी मुद्दा र विवाद बाहिरिएपछि प्रधानमन्त्री कार्कीले थप छलफल गरेकी थिइन्। सोही छलफलपछि सुनारसँगै श्रेष्ठको पनि शपथ रोकिएको स्रोतले जनाएको छ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे २ बजेका लागि तय गरेको भए पनि सिफारिस भएका चारमध्ये दुईजनाको मात्रै शपथ हुने भएको हो।








प्रतिकृया