हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुईको मृत्यु
प्रकाशित मिति
२०८२ कार्तिक ३ गते, सोमबार ०७:५१
कात्तिक ३, २०८२ काठमाडौं– हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एक कार्गो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान करिब ३:५० बजे दुबईबाट आएको इमिरेट्सको कार्गो फ्लाइट नम्बर ईके ९७८८ रनवेबाट चिप्लिएर समुद्रमा पुगेको हङकङ विमानस्थल प्रशासनले जनाएको छ।
दुर्घटनाग्रस्त विमान टर्किश कार्गो एअरलाइन्स “एयर एसीटी” को स्वामित्वमा रहेको बोइङ ७४७–४८१ मोडेलको थियो। विमानमा सवार चालक दलका चारै जना सदस्यहरूलाई सकुशल उद्धार गरिएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विमान ल्यान्डिङको क्रममा ग्राउण्ड सर्भिसको एक वाहनसँग ठोक्किँदा उक्त वाहन समुद्रमा खसेको थियो। त्यसमा सवार दुई जना ग्राउण्ड स्टाफको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनापछि विमानस्थलको उत्तरी रनवे अस्थायी रूपमा बन्द गरिएको छ भने अन्य रनवेहरू नियमित रूपमा सञ्चालनमा छन्। उद्धारकर्मीहरू अहिले समुद्रमा खसेको विमान र ग्राउण्ड सर्भिस वाहनका अवशेष निकाल्ने कार्यमा जुटिरहेका छन्।




प्रतिकृया