• २ असोज २०८३, शुक्रबार
  • ७ः३० बिहान

काठमाडौं शिक्षालयले सम्पन्न गर्‍यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम

प्रकाशित मिति

२०८१ आश्विन ११ गते, शुक्रबार १०:३७

असोज ११ , २०८१ काठमाडौँ: शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १० गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले कार्यक्रम सम्पन्न गरेको हो ।

National Life

२०६१ सालमा ललितपुरको इमाडोलमा अग्रणी विद्यालयको रुपमा स्थापना भएको शिक्षालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै युवा तथा बालबालिकाहरुको अन्तर्राष्ट्रिय अभियान स्काउटको नियमित कार्यक्रम र खेलकुदमा रुचि राख्ने विद्यार्थीहरुका लागि खेलकुद गतिविधीमा पनि विशेष ध्यान दिई कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्वतारोही प्रकाशराज पाण्डेको अध्यक्षतामा आयोजित विशेष समारोहका विशेष अतिथिको रुपमा ब्याडमिन्टन खेलका ओलम्पियन खेलाडी प्रिन्स दाहाल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री रहेका थिए । कार्यक्रममा ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णु रोक्काका साथै महालक्ष्मी नगर स्काउट समितिका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सुरज महर्जन र स्काउटर दिलु घलेले कार्यक्रमका अतिथिहरुको उपस्थितिमा शिक्षालयमा सञ्चालित स्काउट युनिटको पहिलो दीक्षा सम्पन्न गरेका थिए भने शिक्षालयको स्काउट इकाई समितिको दीक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्कउटर प्रकाश राज पाण्डेले गराएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका ख्यातिप्राप्त खेलाडी दिपक विष्टले तेक्वान्दो खेलमा सहभागी विद्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको बेल्ट तथा प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघ ललितपुर जिल्ला उपाध्यक्ष एवं नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शरण महर्जन शिक्षालयका तेक्वान्दो प्रशिक्षक रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बिष्टले, खेलले युवा तथा बालबालिकाहरुलाई अनुशासनमा रहन मदत गर्ने भन्दै स्काउट अभियान पनि युवा तथा बालबालिकाहरुकै अन्तर्राष्ट्रिय अभियान भएकाले उनीहरुको सर्वांगीण विकासमा सहयोगी हुने बताए । विद्यालयका अध्यक्ष नैं साहसिक खेल र पर्वतारोहणमा संलग्न व्यक्तित्व रहेको कारणले पनि यस शिक्षालयका विद्यार्थीहरुले राम्रो शिक्षाको साथसाथै खेलकुदमा समेत राम्रो गर्नसक्ने विश्वास व्यक्त गरे । प्रमुख अतिथि विष्टले यस शिक्षालयमा विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षाको साथमा खेलकुद, स्काउट लगायत विद्यार्थीहरुको बहुआयामिक विकासका लागि सकारात्मक वातावरण विद्यमान रहेको आफूलाई लागेको बताए । प्रमुख अतिथि बिष्टले आफ्ना नानीबाबुहरुको लागि खेल क्षेत्रमा लगानी बढाउन अभिभावक समक्ष अनुरोध समेत गरे ।

शिक्षालयका अध्यक्ष प्रकाशराज पाण्डेले विद्यालयमा स्काउट, खेलकुद तथा अन्य रचनात्मक क्रियाकलापलाई शिक्षालयले थप प्रवर्दन गर्दै लैजाने बताए । विद्यार्थीहरुको समग्र विकासका लागि उत्कृष्ट शिक्षा त हामीले प्रदान गरेका नैं छौं तर त्यतिले मात्रै नपुग्ने रहेछ तसर्थ सम्भव भएसम्म अतिरिक्त क्रियाकलापका सबै विषयवस्तु समावेश गरी विद्यार्थीहरुको अधिकतम सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए ।

स्वागत मन्तव्य दिंदै शिक्षालयका प्रधानाध्यापक प्रेमलता श्रेष्ठले अनुशासित खेलकुद र स्काउटिङ कार्यक्रम मूल शिक्षाकै अभिन्न अंग भएको हुँदा स्तरीय पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा शिक्षालयले जोड दिएको बताउँदै समारोहमा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । वडाध्यक्ष खत्रीले काठमाडौं शिक्षालय ललितपुर यस वडाको उत्कृष्ट विद्यालय रहेको र ललितपुरकै उत्कृष्ट बन्न सक्ने शुभकामना दिए । शिक्षालयमा अन्तर्राष्ट्रिय रुपमै ख्यातीप्राप्त खेलाडीलाई अतिथिको रुपमा भित्र्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालयको यस कार्यले विद्यार्थीहरुलाई राम्रो खेलाडीमा रुपान्तरण गर्न प्रेरणा हुने विश्वास व्यक्त गरे ।

शिक्षालयमा अध्ययनरत ४६ जना विद्यार्थीहरुले स्काउट दीक्षा ग्रहण गरेका थिए । त्यसैगरी ६१ जना विद्यार्थीहरुले बेल्ट ग्रेडिङ प्रतियोगिताबाट प्राप्त नतिजा अनुसार तहगत बेल्ट पदोन्नती तथा प्रमाणपत्र प्राप्त गरेका थिए । शिक्षालयले सम्पन्न गरेको खेलकुद तथा अन्य प्रतियोगिताका बिजेता खेलाडीहरु तथा हाउस तथा अन्य नेतृत्व प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत कार्यक्रममा उपस्थित अतिथिगणले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया