• ५ साउन २०८३, मंगलबार
  • ५:११ बेलुका

डिशहोम बन्यो नेपालकै दोस्रो ठूलो इन्टरनेट कम्पनी

प्रकाशित मिति

२०८० पुष २ गते, सोमबार ०२:२०

पुस २, २०८० काठमाडौँ: डीटीएच टेलिभिजन वितरकको रूपमा परिचित डिशहोम इन्टरनेट सेवामा देशकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम्युनिकेसन इन्डिकेटर्स प्रतिवेदन अनुसार भदौ २०८० मा कम्पनीले यस्तो रेकर्ड बनाएको हो ।

प्रतिवेदन अनुसार अप्टिकल फाइबर मार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको डिशहोम फाइबर नेटका ग्राहक सङ्ख्या भदौ मसान्तसम्म तीन लाख १७ हजार ३१ रहेका छन् ।

Kamana Sewa

त्यसो त डिशहोमले गत वैशाख पश्चात् प्राधिकरणलाई आफ्नो ग्राहक सङ्ख्याको जानकारी दिएको थिएन । वैशाखसम्म कूल इन्टरनेट ग्राहक दुई लाख २९ हजार ६४६ रहेको डिशहोमले त्यसयताका चार महिनाको अवधिमा ८७ हजार ३८५ ग्राहक थप गरेको हो ।

Classic Tech Desktop

साउन २०७७ मा इन्टरनेट सेवाको क्षेत्रमा हात हालेको डिशहोमले तीन वर्षमै इन्टरनेट बजारका स्थापित र दिग्गज खेलाडीलाई माथ दिएको छ । यो छोटो अवधिमा नेपालको इन्टरनेट सेवाको क्षेत्रमा अब वर्ल्डलिङ्क मात्रै ऊ भन्दा अगाडि छ । जसका आठ लाख ११ हजार ९९७ ग्राहक रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

परिवर्तित पछिल्लो बजार समिकरणमा डिशहोमपछि दुई लाख ८४ हजार ७६३ ग्राहकका साथ क्लासिक टेक तेस्रो, दुई लाख ८० हजार २४८ ग्राहक रहेको सुबिसु चौथो, दुई लाख ६४ हजार ८३ ग्राहक सहित भायनेट पाँचौ स्थानमा रहेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने छैटौं नम्बरमा धकेलिएको छ ।

त्यसपछि एक लाख ५१ हजार १०१ ग्राहक भएको वेब सर्फर सातौं, एक लाख १६ हजार ८५५ ग्राहक सहित टेकमाइन्ड्स नेटवर्क आठौं र ५८ हजार ३३४ ग्राहक भएको सीजी कम्युनिकेसन्स नवौं वरियतामा रहेका छन् ।

प्रतिकृया