• १२ असोज २०८३, सोमबार
  • १२ः२६ राती

एसिया कप आजदेखि सुरू हुँदै, पहिलो खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०८:२३

भदौ १३, २०८० काठमाडौँ : एसिया कपको आजदेखि सुरू हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तानविरूद्ध खेल्नेछ।

National Life

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ।


पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो। पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्। बलिङमा ‍पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्।


उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्। १० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो।


विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए।


ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ।


यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ। बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ।


यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ।


एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो। त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द शत्र सञ्चालन गरेको थियो। अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।


पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो।


एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।


प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर(फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्। भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।


यो वर्ष नेपालले एसिया कपमा डेब्यू गर्दैछ। गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो। छनोट प्रतियोगितामा १० टिमको सहभागिता थियो र फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।


नेपाल हाल आइसिसी एकदिवसीय वरीयतामा १५ औं स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ।

नेपाल भर्सेस पाकिस्तान-भदौ १३ (पाकिस्तान, मुल्तान)
नेपाल भर्सेस भारत -भदौ १८ (श्रीलंका, क्यान्डी)


रोहित पौडेल (कप्तान, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।


एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर(फोर र फाइनलमा भिड्न सक्नेछन्। यसो हुन समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर(फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।


इंग्ल्यान्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल पाँच विकेटले नै भारतलाई हराएको थियो।


नेपाल भर्सेस पाकिस्तान -भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)

बंगलादेश भर्सेस अफगानिस्तान ( भदौ १७ ९पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत -भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्‍तान भर्सेस श्रीलंका- भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर-भदौ २० देखि भदौ २९ सम्म
फाइनल-भदौ ३१

प्रतिकृया