• १२ भदौ २०८३, शनिबार
  • २:२९ बेलुका

दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री सोमबार नेपाल आउँदै

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार १०:४८

२७ माघ २०७९, काठमाडौँ: आगामी साता अर्की एक अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर सोमबार काठमाडौं आउने भएकी हुन्। दुईदेखि तीन दिनसम्म नेपाल रहँदा उनले परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत उच्च सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम छ।


अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमण सकेर बुधबार मात्र फर्केकी थिइन्। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की एक सदस्यसमेत रहेकी पावरले दुई दिने नेपाल बसाइमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेकी थिइन्। पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्। उनले पनि प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटेकी थिइन्।

Kamana Sewa

अफ्रिन अख्तर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाल आउने तेस्रो अमेरिकी अधिकारी हुनेछिन्। पुस दोस्रो साता नयाँ सरकार बनेपछि अमेरिकाबाट नेपाल भ्रमण बाक्लिएको छ। कम्युनिस्ट वर्चस्वको सरकार भएकाले चीनतिर झुकाव राख्छ कि भन्ने अमेरिकी सशंयबीच वासिङटनबाट तारन्तार उच्चस्तरीय भ्रमण भएका हुन्। विश्वमा अमेरिकाकै रणनीतिक सारथी मानिने युरोपबाट समेत राजनीतिक भ्रमण भइरहेका छन्। क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राईसँग भेटेकी थिइन्। उनी ईयूमा मन्त्री दर्जाकी उच्च अधिकारी हुन्।

Classic Tech Desktop

काठमाडौंमा भएका उच्चस्तरीय भेटवार्तामा उनले युक्रेन—रुस द्वन्द्वबारे राष्ट्रसंघमा भएका मतदानमा नेपालले युक्रेनलाई साथ दिएकोमा धन्यवाद दिएकी थिइन्। उनले आगामी दिनमा नेपालले त्यसैगरी स्वतन्त्र विदेश नीति अवलम्बन गर्ने अपेक्षा लिइएको बताएकी थिइन्। भेटमा ईयूले अघि बढाएको भूअर्थराजनीतिक अवधारणा ‘ग्लोबल गेटवे’का बारेमा पनि जानकारी गराएकी थिइन्। ग्लोबल गेटवे ईयूले चीनको बेल्ट एन्ड रोड (बीआरआई) लाई टक्कर दिन ल्याएको कनेक्टिभिटी सम्बन्धी विशेष अवधारणा हो।

प्रतिकृया