• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु-याउनु जरुरी’

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ०३:५७

१३ आश्विन २०७९, काठमाडौँ: फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा अध्यागमन कार्यालयमा यतिखेर चहलपहल बढिरहेको छ ।


विभिन्न कामसहित त्यहाँ कार्यालयमा पुग्ने अधिकांशतः विदेशी पर्यटकको ध्यान त्यहाँ प्रदर्शनमा राखिएका कलाले आकर्षित गरेको छ । कलाका क्षेत्रमा पानी रङगको सहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा कलाकार नगेन सिंहको एकल कला प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीमा कलाकार सिंहले तयार गरेका जीवन जगतका विभिन्न यथार्थता झल्किएका कला राखिएका छन् ।

Kamana Sewa

सिंहको उक्त बाह्रौँ एकल कला प्रदर्शनीमा हिमालदेखि तराईसम्मका विभिन्न कलामा पानी रङगको प्रयोगदेखि अल्कोहल कलर, एक्लोरिक कलर आदिको प्रयोग गरिएको छ । प्रदर्शनीमा हिमाली, पहाडी तथा तराईका मनोरम भूभाग, खोलानालादेखि पशुवस्तुका चित्र कोरिएका छन् । प्रदर्शनीमा राखिएका हिमाली तथा पहाडी बस्तीसँगै अमूर्त कलाले पनि त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याएको छ । ‘रिथिङकिङ टुरिजम आर्ट एक्जिविसन’ नाम दिइएको कला प्रदर्शनीमा विभिन्न ३३ कला प्रदर्शनमा राखिएको कलाकार नगेन सिंहले बताउनुहुन्छ ।

Classic Tech Desktop

“प्रदर्शनीमा नेपाली जीवन जगतका यथार्थता, प्रकृति, संस्कृति आदिलाई समेटिएका कला राखिएका छन्”, उहाँ भन्नुहुन्छ,“नेपालका हरेक पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु¥याउनु जरुरी छ, प्रदर्शनीमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिएको छु ।”कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानमा कलाकर्मीको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले यसका लागि राज्यले उनीहरूको भूमिकालाई उचित स्थान दिएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।


“कला अझै राज्यको प्राथमिकतामा परेको छैन”, उहाँ भन्नुहुन्छ, “कलाकर्मी जबसम्म आफ्ना कलामार्फत बाँच्न सक्ने अवस्था राज्यले तयार गर्दै तवसम्म यो क्षेत्रको विकास हुनसक्दैन ।” पर्यटन समाजका धेरै कुरासँग जोडिएको बताउनुहुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी कलाका माध्यमबाट जीवन जगतको यथार्थता चित्रण हुने धारणा राख्नुहुन्छ ।
कला आफैँमा महत्वपूर्ण पहिचान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “फ्रान्सको लुभ्र कला सङग्रहालय जस्ता धेरै स्थल कलाकारिताकै माध्यमबाट विश्वमाझ परिचित भएको यथार्थतालाई हामीले बुझ्नु जरुरी छ । ”


कला तत्कालीन समयको जीवन्त चित्रण गर्ने माध्यम समेत भएको बताउँदै उहाँले प्रत्येक ऐतिहासिक बस्तु तथा सन्दर्भ कलाका माध्यमबाट पछिल्लो पुस्ता माझ हस्तान्तरण हुन सक्ने बताउनुभयो । कलाका माध्यमबाट समाजमा सचेतना समेत जगाउने सकिने प्रदर्शनीको आयोजक संस्था अप्टिमिष्ट क्लब अफ लेखनाथका अध्यक्ष रोशन अधिकारी बताउनुहुन्छ ।


कलाकारिताको प्रवद्र्धन र विकास क्लबको प्राथमिकतामा रहेको बताउँदै उहाँले यस प्रदर्शनीलाई एउटा महत्वपूर्ण अवसरमा रुपमा लिएको धारणा राख्नुहुन्छ । “समाजमा धेरै लुकेका वास्तविकतालाई कलाका माध्यमबाट खोतल्न सकिन्छ”, उहाँले भन्नुहुन्छ, “कलाकार सिंहको यस प्रदर्शनीमा तिनै विविधतायुक्त यथार्थतालाई कलामार्फत प्रस्तुत गरिएको छ ।”

प्रतिकृया