• २२ जेठ २०८३, शुक्रबार
  • ११:४३ बिहान

नेपालमा वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह, आजै बेलायती सांसदहरुलाई भेट्ने

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०५:१४

१३ कार्तिक, २०७८ लन्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । संघद्वारा आज लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले लगानी भित्र्याउन सरकारले सुविधा दिने बताए ।


नेपालमा खोप भित्र्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चाँडै कोभिड-१९ मुक्त मुलुक हुने बताए । आफूले बेलायती सांसदहरुसँग आज भेटेर नेपालको तर्फबाट कुराहरु राख्ने जानकारी देउवाले दिए । एनआरएनए बेलायतले उक्त अवसरमा प्रधानमन्त्री देउवालाई विभिन्न माग राख्दै ज्ञापन पत्र समेत पेश गरेको थियो ।

Kamana Sewa

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । एनआरएन नेता तथा आगामी चुनावमा अध्यक्षका प्रत्यासी कूल आचार्यले प्रधानमन्त्रीलाई एनआरएनए मागबारे ध्यानाकर्षण गराएका थिए । एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन प्रस्तुत गर्दै माग पुरा गर्न माग गरे ।

Classic Tech Desktop

एनआरएनए नेताहरुले प्रधानमन्त्रीलाई दुई मुलुकको समस्याको रुपमा रहेको ब्रिटिस गोर्खाहरुको समस्यालाई सम्बोधन गर्न बेलायत सरकालाई पहल गर्न आग्रह गरेका थिए । सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहित कोप–२६ सम्मेलनका लागि त्यसतर्फ लागेको नेपाली डेलिगेसन टोली, लन्डन दूतावासका प्रतिनिधि पनि सहभागी थिए ।


बेलायती सांसदहरुलाई भेटेर देउवा बेलायती समयानुसार आजै बेलुका स्कटल्यान्डको ग्लास्गो सहरतर्फ प्रस्थान गर्ने भएका छन् । उनले त्यहाँ नोभेम्बर १ र २ मा हुने कोप–२६ सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

प्रतिकृया