मध्यपुरथिमी नगरपालिकाद्वारा समुदायस्तरमा एन्टीजेन परीक्षण,पोजिटिभ आए निःशुल्क उपचार : मेयर श्रेष्ठ
प्रकाशित मिति
२०७८ असार ६ गते, आईतवार १०:४७
भक्तपुर : मध्यपुरथिमी नगरपालिकाले समुदायस्तरमा कोभिड १९ को एन्टीजेन परीक्षण गरेको छ। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ब्यवस्थापनमा समुदायस्तरमा १ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरेको हो।
परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको र यो कुल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट भएको नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।
पोजिटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क हुने मेयर श्रेष्ठले जानकारी दिए । उनले वडागत रूपमा नौ थरि रङ्गको कार्ड वितरण गरिएको भन्दै कार्डबहाकलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत छुट दिइने बताए।
परीक्षण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, डा . राजेश सम्भाजीराव, प्राध्यापक डाक्टर अरूण, स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल, सिसिएमसिका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ, डा. रूना झा, डा. दिबेश कर्माचार्यलगायतले निरीक्षण गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार १ सय ७८ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाको संख्या १९ हजार २३५ रहेको छ भने ३५४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २१ हजार ७६७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।








प्रतिकृया