• ८ असोज २०८३, बिहीबार
  • ३ः२३ राती

युरोकपमा आज दुई खेल, यी देशहरु भिड्दै

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार १०:४९

काठमाडौँ : युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात् राति ९:४५ बजे सुरु हुनेछ।

National Life

इटलीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । वेल्सविरुद्ध जित वा बराबरीले इटली समूह विजेता बन्नेछ । यस्तै बराबरीले वेल्सलाई पनि नकआउट चरणमा पुर्‍याउनेछ तर इटलीविरुद्ध जित हात पारे वेल्स समूह विजेता बन्नेछ। इटलीले यसअघि घरेलु मैदानमा दुई खेल जितिसकेको छ । उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको इटलीले त्यसपछि दोस्रो खेलमा स्विट्जरल्याण्ड पनि सोही नतिजामा हराएको थियो । सन् २०१८ सेप्टेम्बर यता इटली २९ खेलसम्म अपराजित छ ।


उता वेल्सले पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३-० ले हराएको थियो । वेल्स इटलीसँग पराजित भए पनि अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई हराउन नसके वेल्स समूह उप विजेता बन्नेछ । सन् २०१६ मा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको वेल्स यस पटक पनि त्यही उपलब्धि दोहोर्‍याउने लक्ष्यमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

इटली र वेल्स ठूलो प्रतियोगितामा पहिलो पटक भिड्न लागेका हुन । यसअघि यी दुईबीच ९ खेल हुँदा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितेको छ। अर्कोतर्फ बाकु ओलम्पिक स्टेडियममा भिड्दा स्विट्जरल्याण्ड र टर्की निश्चित जितका लागि खेल्नेछन् । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।


त्यसैले अगाडिको यात्रा तय गर्न जितको विकल्प छैन । स्विट्जरल्याण्डले टर्कीलाई हराउन सके र वेल्स इटलीसँग पराजित भए स्विट्जरल्याण्ड समूह उपविजेता बन्नेछ । यदि स्विट्जरल्याण्डले खेल जितेमा अनि वेल्सले इटलीसंँग जित वा बराबरी खेलेमा स्विट्जरल्याण्डले तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट राउण्ड पुग्नेछ ।


उता टर्कीको लागि झिनो सम्भावना कायम राख्न स्विट्जरल्याण्डलाई हराउनै पर्नेछ । जसले टर्कीको ३ अंक हुनेछ र अगाडिको यात्रा तेस्रो हुने टिमहरुको अंकको आधारमा छिनोफानो हुनेछ। टर्की र स्विट्जरल्याण्ड युरोकपमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि सन् २००८ मा स्विट्जरल्याण्ड सहआयोजक हुँदा टर्की २-१ ले विजयी भएको थियो । समग्रमा अहिलेसम्म १५ खेल हुँदा टर्कीले ८ खेल जितेको छ । स्विट्जरल्याण्डले ४ खेल जित्दा ३ खेल बराबरी भएको थियो ।

प्रतिकृया