पोर्चुगलमाथि जर्मनीको शानदार जित, जितमा पहिलो दुई गोल आत्मघाति उपहार
प्रकाशित मिति
२०७८ असार ६ गते, आईतवार १०:२९
काठमाडौँ : युरोकप २०२० अन्तर्गत पोर्चुगलबिरुद्धको महत्वपूर्ण खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ। यो जितले जर्मनीको राउण्ड अफ १६ मा पुग्ने सम्भावना बलियो भएको छ। जर्मनीको म्युनिखमा रहेको एलायन्ज् स्टेडियममा सम्पन्न समूह एफ को खेलमा जर्मनीले साविकको विजेता पोर्चुगलमाथि ४-२गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भएको हो । अर्कोतर्फ हारले पोर्चुगललाई नकआउट चरणमा पुग्न अर्को खेल कुर्नुपर्ने भएको छ ।
जर्मनीले आफ्नो जितमा पहिलो दुई गोल आत्मघाति उपहार पाएको थियो भने बाँकी दुई गोल काई हाभेर्ज र रोबेन गोसेन्सले गरे । पोर्चुगलका लागि एकमात्र गोल कप्तान क्रिष्टियानो रोनाल्डोेले गरे । खेलको शुरुवाती १४ मिनटमा जर्मनीले पकड बनाएपनि खेलको १५औं मिनटमा डियोगो जोटाको प्रयास जर्मनीका गोलकिपर म्यानुएल नुएरको खुट्टामा लागेर डिफ्लेक्ट हुँदा क्रिष्टियानो रोनाल्डोले वान टच गोलमा परिणत गरे ।
यो रोनाल्डोको १०७औं अन्तराष्ट्रिय गोल हो भने अल टाइम गोलको बराबरीका लागि अब २ गोलमात्र बाँकी रहेको छ । इरानका कलि देईले सन् १९९३ देखि २००६ सम्मको अन्तराष्ट्रिय करियरमा कुल १०९ गोल गरेका थिए । यसपछि ३४औं मिनटमा काइ हाभेर्जको प्रहार गरेको बल पोर्चुगलका रोबेन डायनसलाई लागेर गोलमा परिणत हुँदा जर्मनीले खेलमा बराबरी गोल फर्काएको थियो । लगतै ३८औं मिनटमा जोसुआ किमितको कट ब्याक बचाउन खोज्दा पोर्चुगलका डिफेन्डर रफायल गुरेरोबाट आत्मघाति गोलमा परिणत हुन पुग्यो ।
यसपछि दोश्रो हाफमा आक्रमक रवैया अपनाएको जर्मनीले खेलको ५१औं मिनटमा आफ्नो अग्रतालाई तेब्बर बनायो । उसका लागि गोसेन्सको असिस्टमा हाभेर्जलो गोल गरेका थिए । खेलको ६०औं मिनटमा जोसुवा किमिचको सुन्दर क्रसमा गोसेन्सले हेडरमार्फत गोल गर्दै जर्मनीलाई खेलमा ४–१ गोल अन्तरले अघि बढाए । ६६औं मिनटमा रोनाल्डोले डियोगो जोटाका लागि सुन्दर अवसर सिर्जना गरिदिए जसमा जोटा सफल रहे ।
यो गोलले पोर्चुगलको जर्मनीसँगको गोलदूरी ४–२ मा छोट्यायो । तर यसपछिको बाँकी समयमा पोर्चुगललले खेलमा कमब्याक गर्न नसकेपछि खेलमा जर्मनीले स्पष्ट तीन अंक बटुल्यो । जितसँगै पोर्चुगललाई पछि पार्दै जर्मनी २ खेलमा ३ अंकका साथ समूहको दोश्रो स्थानमा पुगेको छ । समान अंक भएको पोर्चुगल गोल भिन्नताको आधारमा तेश्रोमा छ ।






प्रतिकृया