लक डाउनमा प्रहरीको नगर सफाई सुरु
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०२:३१
काठमाडौँ: लक डाउनमा महानगर प्रहरीको नगर सफाई सुरु गर्न सक्रिय छ । काठमाडौँ महानगरका प्रहरी विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन, सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम सुरु गरिरहेको छ ।
विगतका दिनमा व्यस्त सवारी आवागमनले असजिलो भएका काम अहिले लक डाउन(बन्दाबन्दी)का समयमा गरिरहेका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले बताएका छन् ।उनी भन्छन्, ‘सबैको काम गर्ने ठाउँ सडक नै हो । तर काम सकेर उव्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँठाउँमा केही न केही अनावश्यक सामाग्री थुप्रिएका छन् । यस्ता सामाग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ ।’
महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ । ‘अप्ठ्यारा ठाउँमा राखिने भएकोले यस्ता सामाग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ ।’ महाशाखा प्रमुख सापकोटाको भनाइ छ । काम सकेर आफ्ना सामाग्री व्यवस्थापन गर्ने संस्कार भइदिएको भए सहरी सुन्दरतामा धेरै सहयोग पुग्ने थियो ।
अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामाग्री हटाइएको छ । भोलिबाट बानेश्वर क्षेत्रतर्फ केन्द्रीत हुने महाशाखाको योजना छ । महाशाखाका अनुसार सडक र सडक पेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइप लाइन विछ्याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामाग्री सडकमै छोडेर जाने चलन छ ।








प्रतिकृया