• १५ असोज २०८३, बिहीबार
  • १२ः१७ दिउँसो

बीमा कम्पनीले एक वर्षमा १ खर्बभन्दा बढी दाबी भुक्तानी, ५२ अर्ब रुपैयाँ अझै फर्छ्योट हुन बाँकी

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०१:१३

२२ साउन २०८३ काठमाडौं – नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब एक अर्ब ३६ करोड १३ लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको तथ्याङ्कअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३० प्रतिशतले बढी हो।

National Life

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बीमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। तथ्याङ्कअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४ लाख १९ हजार १३६ वटा दाबीबापत ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा ३ लाख ९१ हजार १३५ वटा दाबीबापत ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको थियो।

यस्तै, निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६४ हजार १०१ वटा दाबीबापत ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष १ लाख ५० हजार ६३० वटा दाबीबापत २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि, गत आर्थिक वर्षमा परेका सबै दाबी फर्छ्योट भइसकेका छैनन्। प्राधिकरणका अनुसार हालसम्म २ लाख ५० हजार ३८१ वटा दाबीबापत ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

जीवन बीमा कम्पनीहरूबाट १ लाख ४४ हजार १४४ वटा दाबीबापत ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बाँकी दाबी ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ थियो।

निर्जीवन बीमा कम्पनीतर्फ भने १ लाख ६ हजार २३७ वटा दाबीबापत ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा २५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी थियो।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले दाबी भुक्तानीको रकम र संख्या दुवै बढेको देखाए पनि निर्जीवन बीमातर्फ बाँकी दाबी रकम उल्लेख्य रूपमा बढेकाले दाबी फर्छ्योटलाई अझ प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको देखिन्छ।

प्रतिकृया