प्रदर्शन रोक्न धार्मिक अगुवासँग रविको संवाद
प्रकाशित मिति
२०८३ श्रावण १५ गते, शुक्रबार १२:४५
१५ साउन २०८३ काठमाडौं – देशका विभिन्न स्थानमा बढ्दो तनाव र प्रदर्शनका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले धार्मिक अगुवाहरूसँग छलफल सुरु गरेका छन्। शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्।
यससँगै उनले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छुट्टै छलफल गरिरहेका छन्।छलफलका क्रममा सुनसरी, सिरहालगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै समुदायलाई शान्तिको सन्देश दिन धार्मिक अगुवाहरूको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिइएको बताइएको छ।

लामिछानेले धार्मिक अगुवाहरूलाई समुदायस्तरमा संयमता अपनाउन, हिंसा र उत्तेजना रोक्न तथा आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्। उनले संवाद, सहिष्णुता र सामाजिक एकतालाई वर्तमान परिस्थितिमा सबैभन्दा प्रभावकारी उपायका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।





प्रतिकृया