• २८ भदौ २०८३, आइतबार
  • १ः२२ दिउँसो

आज साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०९:०७

१५ साउन २०८३ काठमाडौं –  आज साउन १५ गते देशभर नेपालीहरूले परम्पराअनुसार खीर खाएर पर्व मनाइरहेका छन्। वर्षा ऋतुमा असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने चलन नेपाली समाजमा प्राचीनकालदेखि रहँदै आएको सांस्कृतिक परम्परा हो।

National Life

साउने झरीका बेला तातो खीर स्वास्थ्यका लागि लाभदायक मानिने विश्वास छ। दूध, चामल, चिनी तथा विभिन्न मरमसलासहित तयार गरिने खीर पौष्टिक हुने भएकाले यसलाई विशेष महत्वका साथ खाने चलन विकसित भएको हो।

धर्मशास्त्रअनुसार संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहारमध्ये उत्कृष्ट मानिन्छ। पितृकार्य, श्राद्ध तथा देवपूजामा खीरको विशेष महत्व रहेको उल्लेख गरिएको छ। ऋषिमुनिको समयदेखि नै निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस खुवाउने परम्परा रहिआएको छ भने अहिले पनि वैदिक सनातन धर्मावलम्बीहरूले श्राद्धका अवसरमा गाईको दूधबाट खीर बनाउने प्रचलन कायम छ।

Classic Tech Mobile
Classic Tech Desktop

साउन महिनासम्म गाउँघरमा खेतीपातीको मुख्य काम सकिने, हरियाली बढ्ने र गाईभैँसीले प्रशस्त दूध दिने भएकाले इष्टमित्र तथा छोरीचेलीलाई घरमा बोलाएर खीर खुवाउने सामाजिक चलन बसेको मानिन्छ। अर्कोतर्फ, साउन भगवान् शिवको महिना भएकाले शिवलाई दूध तथा दूधबाट बनेका परिकार चढाउने धार्मिक परम्परासँग पनि साउन १५ मा खीर खाने चलन जोडिएको धर्मशास्त्रविद्हरू बताउँछन्। यद्यपि यस विषयमा स्पष्ट शास्त्रीय आदेश भने उल्लेख गरिएको छैन।

नेपाली बृहत् शब्दकोषले खीरलाई दूधमा चामल, चिनी र मसला हालेर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् ‘पायस’ वा ‘तस्मै’का रूपमा परिभाषित गरेको छ। आयुर्वेदमा समेत खीरलाई प्राचीन एवं पौष्टिक भोजनका रूपमा व्याख्या गरिएको छ। ‘खीर’ शब्द संस्कृतको ‘क्षीर’ अर्थात् दूधबाट बनेको मानिन्छ।

नेपाली समाजमा ऋतु र पर्वअनुसार विशेष परिकार खाने परम्परा पनि रहिआएको छ। असार १५ मा दही–च्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे तथा माघ १५ मा मालपुवा बनाएर आफन्त तथा इष्टमित्रसँग बाँडेर खाने चलन आज पनि निरन्तर कायम छ।

प्रतिकृया