मर्जरपछि पोखरा र समृद्धि फाइनान्सको शेयर कारोबार १५ दिनका लागि रोक्का
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०९:३५
२९असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार अस्थायी रूपमा रोक्का गरेको छ। दुवै कम्पनीले असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेसँगै सोही दिनदेखि नेप्सेमा उनीहरूको शेयर कारोबार रोकिएको हो। मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ अनुसार मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको शेयर कारोबार बढीमा १५ दिनसम्म रोक्का गर्न सकिने व्यवस्था बमोजिम कारोबार स्थगित गरिएको हो।
पोखरा फाइनान्स र समृद्धि फाइनान्स समान अनुपातमा एकीकृत भएका हुन्। गत माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए। त्यसपछि नेपाल राष्ट्र बैंकबाट वैशाख २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ७ गते एकीकृत कारोबारका लागि आवश्यक स्वीकृति प्राप्त गरेका थिए।

मर्जरपछि कम्पनीले पोखरा फाइनान्स लिमिटेड कै नामबाट काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयबाट कारोबार सञ्चालन गर्नेछ। हाल पोखरा फाइनान्सको चुक्तापुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्तापुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ। मर्जरपछि संयुक्त कम्पनीको पूँजी आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।





प्रतिकृया