• २४ असार २०८३, बुधबार
  • ११:३८ बेलुका

पर्यटन क्षेत्रको दिगो विकासका लागि बागमतीमा अन्तरक्रिया

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ११:२०

२४ असार २०८३ काठमाडौं – बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको संरक्षण, प्रवर्द्धन र दिगो विकासका विषयमा केन्द्रित एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय र राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको सहकार्यमा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रका सम्भावना, चुनौती तथा भावी कार्यदिशाबारे व्यापक छलफल गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले कानुनी जटिलताका कारण प्रदेशका धेरै महत्वपूर्ण पर्यटकीय गन्तव्यको अपेक्षाअनुसार विकास र प्रचार–प्रसार हुन नसकेको बताए। संघीय ऐन तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्बन्धी प्रक्रियाले होटल दर्तालगायतका काममा समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकार समाधानका लागि संवाद र सहकार्य गर्न सधैं तयार रहेको बताए।

Kamana Sewa

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको सम्भावना उजागर गर्न प्रदेश सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै व्यवसायी सशक्त भए मात्र पर्यटन उद्योग र प्रदेशको अर्थतन्त्र बलियो बन्ने धारणा राखे। उनले चीन र भारतका धार्मिक पर्यटकलाई प्रभावकारी रूपमा आकर्षित गर्न सके नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

Classic Tech Desktop

नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी मार्केटिङ, ब्रान्डिङ र समाधानमुखी नीति आवश्यक रहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा हालसम्म ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् भने जुन महिनामा मात्रै ९१ हजार ३६३ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। उनले पर्यटन क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब २.६५ प्रतिशत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिए।

होटल व्यवसायी महासंघ नेपाल, बागमतीका अध्यक्ष दामोदर नेपालले प्राकृतिक सम्पदाको संरक्षण र ग्रामीण पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिनुपर्ने बताए। होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले ग्रामीण पर्यटन र होमस्टेको विस्तारमार्फत विदेशी पर्यटकको बसाइ अवधि बढाउन सकिने धारणा राखे।

मध्यपुर थिमी नगरपालिका–३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्यले आन्तरिक पर्यटन प्रवर्द्धनले पनि राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै प्रकृति, संस्कृति र आध्यात्मिक सम्पदामा आधारित पर्यटन विकास रणनीति आवश्यक रहेको बताए। कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पदम पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारलगायतले पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, प्रचार–प्रसार र नीतिगत सुधारका विषयमा धारणा राखेका थिए।

राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालासहित ५० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिकृया