यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ०९:०९
२४ असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपास रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले देशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिमप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।




प्रतिकृया