विश्वकपबाट बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०६:५६
२२ असार २०८३ काठमाडौं – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हारपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिएसँगै उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्रा टुंगिएको बताएका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलको जर्सीमा आफूलाई नदेखिने बताए। न्यु जर्सीमा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयको ९०+१०औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन।

विश्वकपअघि चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार उनले क्रमशः टोलीमा पुनरागमन गरे पनि अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध पनि उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए।

सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै पुरुष फुटबलतर्फ ब्राजिलका सर्वाधिक गोलकर्ता बने। उनले चार संस्करणको फिफा विश्वकप खेले र एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। यद्यपि विश्वकप उपाधि जित्ने उनको सपना भने पूरा हुन सकेन।
नेयमारको अन्तर्राष्ट्रिय करियरमा सन् २०१३ को फिफा कन्फेडेरेसन कपको उपाधि र कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएको उपलब्धि विशेष मानिन्छ। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए।
बारम्बारको चोटका बाबजुद ब्राजिलका लागि निर्णायक खेलाडीका रूपमा स्थापित नेयमारले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा पेनाल्टीमार्फत गोल गर्दै राष्ट्रिय टोलीको यात्रा समाप्त गरेका छन्। अन्तिम सिटी बज्नेबित्तिकै उनी भावुक बनेका थिए भने टोलीका खेलाडीहरूले उनलाई अँगालो हालेर सान्त्वना दिएका थिए।




प्रतिकृया