यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०७:००
२२ असार २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ।

देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिकृया