• १६ असार २०८३, मंगलबार
  • ११:२० बिहान

देशभर मनसुन सक्रिय, यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०९:२६

१६ असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग तथा गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ।

Kamana Sewa

हाल कोशी, मधेश र बागमती प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ। यीमध्ये कोशी र बागमतीका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै देशका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिकृया