• १४ असोज २०८३, बुधबार
  • ११ः३७ राती

कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०२:५३

९ असार २०८३ काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ।मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोपलाई ‘प्रोपगान्डा’ मात्र भएको बताए।

National Life

उनले शिक्षकहरूलाई थप जिम्मेवार बनाइएकाले ग्रेडको प्रतिशत बढेको र विगतको तुलनामा छिटो नतिजा प्रकाशन गर्न सफल भएको दाबी गरे। मन्त्रालयले नतिजा प्रकाशनसम्बन्धी विषयमा अध्ययन गर्दा कुनै त्रुटि फेला नपरेको र उत्तरपुस्तिका परीक्षण इमानदारीपूर्वक गरिएको उनको भनाइ थियो।

बैठकमा सचिव पौडेलले विश्वविद्यालयमा हुने नियुक्ति प्रक्रिया सम्बन्धित विश्वविद्यालय ऐनअनुसार नै सञ्चालन भइरहेको बताए। खुला विश्वविद्यालयमा स्थायी शिक्षक नियुक्तिसम्बन्धी विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि उनले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार हाल नेपालका विभिन्न विश्वविद्यालयमा करिब १ हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत छन्। विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियालाई सहज बनाउन गृहमन्त्रालयसँग छलफल भइरहेको र चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने विषयमा सरकारले नीतिगत निर्णयको तयारी गरिरहेको छ।

सचिव पौडेलले स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै रोजगारी सिर्जनामा सामूहिक प्रयास भए विद्यार्थीलाई स्वदेशमै अध्ययन र कामका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।

प्रतिकृया