देशभर करिब १६ सय नयाँ टेलिफोन टावर निर्माणको प्रक्रिया अघि बढ्यो : सञ्चारमन्त्री
प्रकाशित मिति
२०८३ असार ३ गते, बुधबार ०३:५७
३ असार २०८३ काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर सुधार र पहुँच विस्तारका लागि करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासोलाई सम्बोधन गर्न मन्त्रालय गम्भीर रूपमा लागिपरेको बताए।

उनका अनुसार दूरसञ्चार विस्तार तथा स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको बजेटभन्दा बढी लगानी हुने तयारी छ। नेपाल टेलिकमले मात्र करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना रहेको उनले जानकारी दिए।

मन्त्रीका अनुसार हाल देशभर ४ हजार ८२९ दूरसञ्चार साइट सञ्चालनमा छन्। प्रदेशगत रूपमा कोशीमा ७६०, मधेसमा ५६८, बागमतीमा १ हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा रहेका छन्।
सेवा विस्तार र गुणस्तर सुधारका लागि गरिएको अध्ययनअनुसार थप १ हजार ४४३ साइट आवश्यक देखिएको छ। तीमध्ये कोशीमा २५७, मधेसमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ साइट थप आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री तिमिल्सिनाले आवश्यकताभन्दा बढी पूर्वाधार निर्माणलाई लक्ष्य गर्दै करिब १६ सय साइट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको बताए। ती पूर्वाधार सञ्चालनमा आएपछि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
उनले उपकरण खरिदमा समय लाग्ने भए पनि सम्बन्धित निकायसँग समन्वय गरी निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए। साथै, नागरिकको गुणस्तरीय सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।




प्रतिकृया