यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ असार १ गते, सोमबार ०९:१६
१ असार २०८३ काठमाडौं – देशमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले देशका हिमाली तथा पहाडी भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्र तथा देशका हिमाली भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने तातो दिनको अवस्था रहने सम्भावना रहेको छ ।

आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागको अनुमान छ । साथै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
विभागले मेघगर्जन, चट्याङ र वर्षाबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिकृया