कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा १० वन कर्मचारी पक्राउ, थपको खोजी जारी
प्रकाशित मिति
२०८३ असार १ गते, सोमबार ०९:२३
१ असार २०८३ कैलाली – कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । घटनामा सहभागी अन्य कर्मचारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले जेठ २९ गते एउटा टेम्पोलाई धकेलेर भीरमा खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा र आलोचना बटुलेको छ ।
घटनापछि प्रशासनले सम्बन्धित पक्षबीच छलफल गराए पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन । टेम्पो सञ्चालक घनश्याम धामीकी श्रीमती धनादेवी धामीले टेम्पो घरमा राख्ने र कहिलेकाहीँ मात्र पसलमा प्रयोग गर्ने गरिएको बताइन् । उनका अनुसार पसल हटाउने विषयमा वन कर्मचारी र उनका श्रीमानबीच विवाद भएको थियो । उनले टेम्पोभित्र रहेका पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत सामग्री निकाल्ने प्रयास गरे पनि टेम्पो जोगाउन नसकिएको बताइन् ।

धामीले कर तिरेर सञ्चालन गरिएको टेम्पो लैजान खोज्दा समेत रोकिएको र वन कर्मचारीहरूले कुनै कुरा नसुनी टेम्पो भीरबाट खसालेको आरोप लगाएकी छन् ।

यता डिभिजन वन कार्यालयले भने उक्त टेम्पो वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले राखिएको संरचनाका रूपमा प्रयोग हुँदै आएको दाबी गरेको छ । कार्यालयका अनुसार टेम्पोलाई सुरक्षित रूपमा किनारतर्फ सार्ने क्रममा अनियन्त्रित भएर पल्टिएको हो ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ भने दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताइएको छ ।




प्रतिकृया