शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
प्रकाशित मिति
२०८३ जेष्ठ ११ गते, सोमबार १२:४४
११ जेठ २०८३ काठमाडौं – शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ सुरु भएको हो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि सोमबारको मिति तोकेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा वारेशमार्फत सर्वोच्च पुगेका हुन् । रिटमा जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नभएको दाबी गरिएको छ ।

रिटमा आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर पनि गरिएको छ । अब पक्ष–विपक्षको बहस सकिएपछि सर्वोच्च अदालतले पक्राउ पुर्जी रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।
निर्वाचनअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन् ।
j




प्रतिकृया