प्रतिनिधि सभा बैठक फेरि,दोस्रो पटक स्थगित
प्रकाशित मिति
२०८३ बैशाख ३० गते, बुधबार ०३:४२
३० बैशाख २०८३ काठमाडौं- विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले उनको उपस्थितिको माग गर्दै बैठक अवरुद्ध गरेका थिए । उनीहरूले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयंले टेबल गर्नुपर्ने मागसमेत गरेका थिए ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएपछि पुनः बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले सोही माग दोहोर्याएपछि बैठक अघि बढ्न सकेन ।

दोस्रो बैठकमा सभामुखले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम टेबल गरिसकेको भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

तर, विपक्षी दलहरूले देशभित्रै रहेका प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे । सभामुखले यस विषयमा छलफल गरेर सदनलाई जानकारी गराउने बताए पनि विपक्षी सांसदहरू नमानेपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको हो ।




प्रतिकृया