प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले गरे नीति तथा कार्यक्रम टेबल
प्रकाशित मिति
२०८३ बैशाख ३० गते, बुधबार ०३:३७
३० बैशाख २०८३ काठमाडौं- सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका हुन् ।
सभामुखले अर्थमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेलाई आफ्नो धारणा राख्न समय दिएका थिए ।

आङ्देम्बेले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग गर्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग पनि गरे ।

जवाफमा सभामुखले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव परेको जानकारी दिँदै प्रधानमन्त्रीको उपस्थितिबारे छलफलपछि मात्रै निर्णय गर्न सकिने बताए । उनले विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
तर विपक्षी सांसदहरूले सभामुखको आग्रह नमानेर विरोध जारी राखेका थिए । यही क्रममा कवीन्द्र बुर्लाकोटीले बोल्न समय माग गरे पनि सभामुखले समय दिएका थिएनन् ।
त्यसपछि पुनः समय पाएका आङ्देम्बेले प्रमुख प्रतिपक्षी दललाई समय तोक्नु गलत भएको भन्दै प्रधानमन्त्रीले आफ्नै नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए ।




प्रतिकृया