सरकारको कार्यशैलीमाथि हर्कराज राईको कडा आलोचना
प्रकाशित मिति
२०८३ बैशाख २९ गते, मंगलवार ०४:२३
२९ बैशाख २०८३ काठमाडौं- हर्कराज राईले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि कडा आलोचना गर्दै प्रतिनिधिसभामा तीव्र टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रमसंस्कृति पार्टीका अध्यक्ष राईले प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको र सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको आरोप लगाए ।
उनले “यो सरकारको प्रधानमन्त्री छ कि छैन?” भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । उनका अनुसार प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगर्नु लोकतान्त्रिक मर्यादाविपरीत हो । राईले सरकारले जनताको सुरक्षा गर्न नसकेको, सीमा सुरक्षा कमजोर भएको र नागरिक सरकारसँग डराउनुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए । भारतले सीमामा पर्खाल लगाइरहेको विषयमा सरकार मौन रहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले मन्दिर, गुम्बा र विद्यालय भत्काउने कार्यको पनि विरोध गर्दै सरकारले निजी क्षेत्रलाई आतंकित बनाएको र अर्थतन्त्र कमजोर बनाउने दिशामा अघि बढेको दाबी गरे । डोजर अभियान र सरकारी कार्यशैलीलाई लिएर उनले सरकारप्रति प्रश्न उठाउँदै देशलाई अस्थिरतामा धकेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।





प्रतिकृया