प्रधानमन्त्रीको व्यवहारले संसद्को गरिमामा दाग लागेको कांग्रेसको टिप्पणी
प्रकाशित मिति
२०८३ बैशाख २९ गते, मंगलवार ०२:५६
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् ।
उनले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनाले संसद् र देशको गरिमामा असर पुगेको टिप्पणी गरे । “प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो,” भन्दै आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुँडिएको र संसद्को इज्जतमा दाग लागेको बताए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकबाट बाहिरिएको स्पष्टीकरण दिएको र पछि उक्त पोस्ट हटाइएको विषयमा पनि उनले प्रश्न उठाए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक समस्या आएको हो भने तत्काल स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराउनुपर्ने आङ्देम्बेको माग थियो । उनले प्रधानमन्त्री अब केवल राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र नभई सम्पूर्ण देशको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्वास्थ्यप्रति आफूहरू पनि चिन्तित रहेको बताए ।




प्रतिकृया