आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु
प्रकाशित मिति
२०८३ बैशाख २ गते, बुधबार ०८:५२
२ बैशाख २०८३ काठमाडौं – आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् र स्थलगत तथ्याङ्क सङ्कलन कार्य प्रारम्भ भएको छ।
कार्यतालिकाअनुसार तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थासँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने भएकाले यस अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

यस गणनाअन्तर्गत उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा विषयमा आधारभूत विवरण सङ्कलन गरिनेछ।

त्यसक्रममा दर्ता भएका तथा नभएका ठूला–साना व्यापारिक प्रतिष्ठान, स्वरोजगार तथा ठूलो सङ्ख्यामा रोजगारी दिने संस्थाहरू, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायतको विस्तृत गणना गरिनेछ।
आर्थिक गणनाको पूर्वतयारी अन्तर्गतका कामहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुआतमा ७७ जिल्लासहित थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा सम्पन्न राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।




प्रतिकृया